विराटनगर । विराटनगरको बुधनगर भेडियारीमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)सँग जोडिने धरान–विराटनगर मुख्य राजमार्गसम्मको सडकलाई चार लेनमा विस्तार गरिने भएको छ । साविक रानीबाट भन्सार आईसिपी परिसरमा सरेसँगै दुई लेनको साढे चार किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने भएको हो ।
विश्व बैंकको सहयोगमा लिंक रोडलाई विस्तार गर्न लागिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष पराजुलीले जानकारी दिनुभयो । आइसिपीदेखि धरान रोडसम्मको कनेक्टिङ रोड साँघुरो भएपछि चार लेनको बनाउने प्रक्रिया अगाडी बढाइएको हो ।
निर्देशक पराजुलीका अनुसार सडकलाई चार लेनको बनाउन नेपाल सरकारले विश्व बैङ्कसित पत्राचार गरिसकेको छ र विश्व बैङ्कले पनि स्वीकृति जनाइसकेको छ । त्यस्तै आइसिपीमा भएको पार्किङ यार्ड पनि विश्व बैङ्ककै सहयोगमा विस्तार गरिने निर्देशक पराजुलीले बताए ।
आइसिपीमा हाल ७८ वटा मालवाहक सवारी साधन अट्ने पार्किङ यार्ड छ । त्यहाँ कम्तीमा २ सय मिटर लम्बाइको पार्किङ यार्ड चाहिएको सरोकारवालाहरू बताउँछन् ।
आइसिपी परिसरभित्रै मालवाहक सवारीका चालक र सहचालकले खाना पकाएर खाने ठाउँको निर्माण गरिएको भए पनि पार्किङ यार्ड नबन्दा खुला आकाशमुनि सडकमा ट्रक र कन्टेनर पार्किङ गरिँदै आएको छ ।
त्यस्तै पुरानो भन्सार कार्यालय रहेको आइसिडीमा २ वटा ठूला गोदाम र मालवस्तु जाँच गर्ने २ वटा ओपन सेड छन् । यी गोदाम र सेडलाई पनि प्रयोगमा ल्याइने पराजुलीको भनाइ छ ।
उनले भने, ‘हालको आइसिपीदेखि पुरानो भन्सारसम्मको ५ किलोमिटर क्षेत्रलाई नै नेपाल सरकारले भन्सार क्षेत्र भनेर घोषणा गरेको छ । त्यसैले पुरानो भन्सार कार्यालको परिसरभित्र रहेका संरचनाको उपयोग गर्न कुनै पनि कानुनी छेकबार छैन । यहाँका गोदाम र ओपन सेडलाई प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ ।’
पुरानो भन्सार कार्यालय भएको आइसिडीमा ३ सय मालवाहक सवारी अटाउन सक्ने भएको हुँदा यो ठाउँलाई उपयोग गर्न सके भन्सार जाँचपासको काम अझ सहज हुने उनको धारणा थियो ।
उनले भारत सरकारको सहयोगमा आइसिपीमा निर्मित दुबै गोदाम चुहिने भएकाले यसको मरम्मत जारी रहेको जानकारी दिए ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष बिजेन्द्र पारासरले आइसिपी परिसरमा ३ हजार र ५ हजार वर्ग मिटरका दुई वटा ठूला गोदामको पनि आवश्यकता भएको उल्लेख गरे ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका नरेन्द्र मोदीले गत वर्षको माघ ७ गते संयुक्त रूपमा डिजिटल प्रविधिद्वारा रिमोटबाट विराटनगरको आइसिपीको उद्घाटन गरेका थिए ।