विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभाका अवसरमा पाँचजना पत्रकार पुरस्कृत भएका छन् । महासंघ मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार विशेष कारणले गतवर्षको समेत यसैवर्ष प्रदान गरिएको हो ।
महासंघ मोरङले पत्रकार कमल पौडेल खिलेश्वरी पत्रकारिता पुरस्कार, विवेक गौतम र हरिकोइरालालाई युव प्रतिभा पुरस्कार र बाबुराम भण्डारी र पदम सरदारलाई नगर विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । शुक्रबार १३ औं साधारणसभा मोरङ शाखाले सम्पन्न गरेको छ ।

महासंघको तीनवर्षे कार्यकालबाट नयाँ नेतृत्वसहित जिल्ला शाखाको साधारण सभा हुने साविक विधान संशोधन भएपछि देशभरका शाखाको साधारणसभा सम्पन्न गरेपछि मात्रै नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । आगामी फागुनमा जिल्ला शाखा, प्रदेश र केन्द्रको एकैदिन प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व छानिने छ ।
साधारणसभामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र लगायतले शुभकामना प्रदान गर्नु भएको थियो । शुक्रबार नै भएको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।