विराटनगर । विराटनगरमा अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । विराटनगर जुनियर जेसिजको आयोजनामा २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता शुरु भएको हो ।
आजको खेलबाट ६ वटा विद्यालय सेमीफाईनलमा पुगेका छन् । पहिलो चरणको खेलबाट जनक स्मृति स्कुल इनरुवा, आदर्श मावि विराटनगर र केभिएम स्कुल विराटनगर सेमीफाईनलमा प्रवेश गरेका छन् । दोश्रो चरणको खेलबाट एभरेष्ट विराटनगर, जेम्स इन्टरनेशनल स्कुल विराटनगर र लिटल फ्लावर स्कुल इटहरी सेमी फाईनलमा प्रवेश गरेको विराटनगर जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष अंकित थापाले बताउनुभयो ।
आगामी माघ २ गते सम्म चल्ने प्रतियोगितामा मोरंग र सुनसरीका सामुदायिक र संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको क्वीज मास्टरका रुपमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ र पुर्वअध्यक्ष सन्दिपदास श्रेष्ठ रहनु भएको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विद्यार्थीलाई सहभागि सवै विजेता नहुने भएकाले प्रतियोगितामा सहभागिता जनाउनुनै सफलता भएको बताउनुभयो । उहाँले क्वीज प्रतियोगिताको नियमितताका लागि महानगरले बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको शुरुवात देखिको प्रायोजक कावरा ग्रुपका नवलकिशोर कावराले प्रतियोगिताको निरन्तरताका लागि २४ बर्षदेखि प्रायोजन गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनुभयो । विराटनगर जुनियर जेसिजले २४ बर्षदेखि वीरेन्द्र सभा गृहमा एकै प्रायोजकबाट प्रतियोगिता गर्दै आएको छ । उद्घाटन कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, पुर्व अध्यक्ष प्रितेशराज दाहाल लगायतले बोल्नु भएको थियो ।