विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको पूर्वी नाका विराटनगरबाट खाद्यान्नको आयातमा वृद्धि भएको छ। विराटनगर भन्सार कार्यालयको तुलनात्मक तथ्यांकले चालु आवमा गहुँ, मकै, धान र चामलको आयातमा वृद्धि देखिएको हो। विराटनगर नाका हुँदै चालु आर्थिक वर्ष गहुँको आयात चार गुणा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विराटनगर नाका हुँदै ३ करोड १७ लाख मूल्यको ९ हजार ५ सय ४४ गहुँको आयात गरिएकोमा चालु आवको सोही अवधिमा झन्डै ४ गुणाले वृद्धि भएर १ अर्ब १९ करोड ६२ लाख मूल्यको ३६ हजार ८ सय ५३ मेट्रिक टन गहुँ आयात भएको हो ।
सरकारले गत वर्ष जेठ १५ गते प्रस्तुत गरेको बजेटमा गहुँको आयातमा लाग्ने कृषि सुधार शुल्कलाई ५ प्रतिशतबाट वृद्धि गरेर ९ प्रतिशत कायम गरेको थियो । त्यसको विरोध भएपछि तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले २०७७ असोज १५ गते उक्त शुल्यको निर्णयलाई सच्याएका थिए । व्यापारिक वृत्तबाट यसको व्यापक विरोध भएको थियो। मैदा र पिठोको आयातमा पनि ९ प्रतिशत नै शुल्क भएको हुँदा कच्चा पदार्थ र तयारी वस्तुको आयात शुल्क समान हुन नहुने व्यवसायीको आग्रह थियो। अर्थमन्त्री खतिवडाले आफू अमेरिकाको राजदूत भएर जाने निर्णय सच्याएका हुन् ।
‘गहुँको आयात शुल्क सच्चिएपछि प्रशस्त आयात भएको देखिन्छ । न्युट्री फुड प्रालिका सञ्चालक प्रदीप शारडाका अनुसार गहुँको कृषि सुधार शुल्क ९ प्रतिशत नै रहेको भए ढिलो चाँडो यही वर्ष धेरै मैदा उद्योग बन्द हुने थिए। सरकारले निर्णय सच्याएर मैदा मिललाई ब्रिदिङ स्पेस दिएको छ। नुडल्स, चाउचाउ र बिस्कुट उद्योगले भारतबाट मैदा नै पैठारी गर्न थालिसकेको अवस्था पनि थियो। चालु आवको पहिलो ६ महिनामा मकै पनि गत आवको भन्दा झन्डै ४ गुणाले वृद्धि भएको छ। गत आवको पहिलो ६ महिनामा विराटनगर नाका हुँदै १ अर्ब १३ करोड १० लाख मूल्यको २९ हजार ५ सय ११ मेट्रिक टनले आयात गरिएको मकै चालु आवको सोही अवधिमा २ अर्ब ९७ करोड २७ लाख मूल्यको १ लाख १७ हजार ६ सय १८ मेट्रिक टन ल्याइसकिएको छ।
गत आर्थिक वर्षमा भारतमा नै बाढी आएर मकैको उत्पादन कम भएका कारण माग बमोजिमको मकै नेपाल आयात हुन नसकेको व्यवसायीको भनाइ छ। यसबाहेक मदिरा उद्योगहरूले अल्कोहल उत्पादनका लागि कनिका ९कुड्के चामल०–का ठाउँमा मकैको प्रयोग गर्न थालेपछि मकैको आयात ह्वात्तै वृद्धि भएको हो। कार्यालयको पुस मसान्तसम्मको तथ्यांकले धानको पनि आयातमा वृद्धि भएको देखाएको छ। गत आर्थिक वर्षको पुस मसान्त सम्ममा १ अर्ब ३३ करोड ३२ लाखको ३८ हजार ४ सय ५२ मेट्रिक टन धानको आयात भएको थियो।
उक्त तथ्यांकलाई उछिन्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा १ अर्ब १० करोड २७ लाख मूल्यको ४० हजार २ सय ११ मेट्रिक टन धान आयात गरिएको छ। भारतमा धानको उत्पादनमा वृद्धि भएर गत आर्थिक वर्षको भन्दा सस्तो मूल्य भएकाले धानको आयातको परिमाणमा वृद्धि भए पनि मूल्यमा भने वृद्धि भएको छैन। गत आवको पुस मसान्तसम्ममा भन्दा २३ करोड कममै २ हजार २ सय मेट्रिक टन धान बढी आयात गरिएको छ। चालु आवको पहिलो ६ महिनामा विराटनगर नाकाबाट चामलको आयात गत आवको भन्दा झन्डै दोब्बर बढीले भएको छ। गत आवको सोही अवधिमा ७३ करोड ३० लाख मूल्यको १६ हजार ८ सय ३३ चामल यस नाकाबाट आयात भएकोमा चालु आवको पुस मसान्तसम्ममा १ अर्ब ३२ करोड ४४ लाख मूल्यको ३० हजार ८ सय ६४ मेट्रिक टन चामल भित्रिएको छ।
आयात गर्दा भन्सार कार्यालयमा धानको कृषि सुधार शुल्क ५ र चामलको ९ प्रतिशत तिर्नुपर्छ। सस्तो महसुलका कारण व्यवसायीहरू धान आयात गरेर चामल उत्पादन गर्नुभन्दा उत्पादित चामल नै नेपाल पैठारी गरेर त्यसको प्याकेजिङ र ब्रान्डिङ गरेर बिक्री गर्न पल्किएका छन्।