विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी प्राइम लाइफ इन्सुरेन्सका एजेन्ट पनि रहेको खुलेको छ । उनी सेन्टजोसेफ विद्यालयका लेखा हेर्ने कर्मचारी समेत हुन् ।
घटना अनुसार विराटनगर–२ मै रहेको एउटा घर बिक्री गरिदिन प्रधानलाई घरधनीले आग्रह गरेका थिए । बिक्रीको तयारीमा रहेको घर किन्ने ग्रहाक खोजेका उनी ग्राहाक लिएर दिउँसो त्यहाँ पुगेको खुलेको प्रहरीले जनाएको छ । अमेरिका जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा छन् ।
प्रहरीका अनुसार अमेरिका जानुअघि विराटनगरमा भएको घर बिक्री गर्ने योजना रहेको कुरा उनलाई घरधनीले सुनाएका रहेछन् । त्यही घर किन्ने ग्राहाकको खोजीमा जुटेका प्रधानले दिउँसो ग्राहाक लिएर गएको र साँझ पुनः त्यही घरमा पुगेर घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
डीएसपी थापाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाए । उनले पीडित पक्षबाट किटानी जाहेरी परेमा प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी दिए ।