विराटनगर । विराटनगरमा अधिक सवारी चाप हुने तीन स्थानमा आकाशे पुल निर्माणको प्रक्रिया सुरु गरिएको छ । महानगरपालिकाले नगरक्षेत्रभित्र ३ स्थानमा आकाशे पुल निमार्ण गर्ने प्रक्रिया बढाएको हो ।
विराटनगरमा सवारीसाधनको चाप बढ्न थालेपछि आम सर्वसाधारणको सुगमता र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ महानगरले आकाशे पुल निर्माणको प्रक्रिया सुरु गरेको छ । एकवर्ष भित्र सम्पन्न गर्नेगरि २ करोड ४७ लाखको लागतमा पुल निर्माणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो ।
पुल निर्माणका लागि कला विल्डर्स र आर.के विल्डर्स एण्ड कन्सर्टक्सन कम्पनीसँग ठेक्काले पारेको महानगरका ईन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । गरक्षेत्रभित्रको विराटनगर–धरान सडकखण्ड अन्तर्गत घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने महानगरको योजना छ ।
यसले विराटनगरको सौन्दर्यता र विकासमा थप टेवा पुग्ने महानगरको परिकल्पना छ । महानगरले गतवर्षदेखि नै पुल निर्माणको प्रक्रिया थालेपनि सडक विभागको स्वीकृत र कानुनी बाधा अड्चनका कारण सो परियोजनाले केही समय ढिलाई व्यहोेरेको थियो ।
सडक विभागको स्वीकृति बमोजिम महानगरले प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा पुल निर्मार्ण हुने आशयसहितको सूचना समेत प्रकाशन गरिसकेको छ । आकाशे पुल निर्माणका लागि प्रारम्भिक चरणको प्रक्रिया अन्तर्गत महानगरले अहिले टेण्डर प्राप्त गर्ने निर्माण कम्पनीहरूलाई सम्झौताका लागि पत्र काटिसकेको छ । अबको महिनादिन भित्रै निर्माण कम्पनीसँग सम्झौता भई पुल निर्माणको कार्य थालिने इन्जिनियर थापाले जानकारी दिनुभयो ।
६ लेन सडकको मापदण्ड अनुसार निर्माण हुन गइरहेको आकाशे पुल फलामे संरचनाको हुने महानगरले जनाएको छ । आवश्यकता र अवस्था विश्लेषणको आधारमा पैदल यात्रुहरूको सहजताका लागि आकाशे पुललाई अन्यत्रै पनि सहजै स्थानान्तरण गर्ने सकिने अवधारणा बमोजिम निर्माण प्रक्रिया अघि बढाइएको महानगरको दाबी छ ।