विराटनगर
नेपाल बुद्धिजीवी परिषद् मोरङको शनिबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले अधिवक्ता भोजराज श्रेष्ठको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नेपाल वुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य डा. उद्धव पोखरेलको सभापतित्वमा सम्पन्न उक्त भेलाको को प्रमुख आतिथ्यता नेकपा एमालेका सचिव तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यले गरेका थिए।
विराटनगरको विष्णुमाया पुस्तकालयमा सम्पन्न उक्त भेलाले कार्यसमितिको उपाध्यक्षमा नेपाल पत्रकार महासंघ मोरङका निवर्तमान अध्यक्ष बन्धु पोखरेल त्यसैगरी सचिवमा मानवअधिकारकर्मी तथा अधिवक्ता कोषराज न्यौपाने , सहसचिवमा देवी पन्थी र कोषाध्यक्षमा मिथलेशकुमार मिश्रलाई चयन गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले पार्टी एकतामा आएको उल्झनलाई चिर्न बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका छन् । अहिले पार्टी गम्भीर संकटको मोडमा उभिएको चर्चा गर्दै उनले यसको कारक पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं भएको समेत जिकिर गरे । पार्टीलाई विधिसम्मत ढंगले चलाउनेभन्दा सामन्ती शैलीले हुकुम, प्रमाङ्गीको आधारमा चलाउन खोजेका भन्दै आचार्यले यो कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।
आचार्य भन्छन् ,‘संविधान नमान्ने, विधान नमान्ने, गुटको आधारमा पार्टी चलाउन खोज्ने र अपमानजनक ढंगले सबैलाई सिध्याउन खोज्ने काम भइरहेको छ, ‘राजालाई त फाल्यौं, पार्टीभित्रका नवसामन्त कति दिन टिक्लान्, एक दिन फालिन्छन् ।’ पचासौं वर्षदेखि लागेर बनाएको पार्टीलाई तहसनहस बनाउन खोजिएको छ भन्दै अहिलेको परिस्थितिबाट हतास र निरास नबन्न आफू पक्षीय कार्यकर्तालाई उनले आग्रह गरे । ‘अलिअलि दुःख दिएका छन्, धेरै कठिन ठान्नु हुदैन, वडादेखि केन्द्रसम्म एउटा सशक्त राष्ट्रव्यापी शक्ति बनाएर न्यायपूर्ण आन्दोलनलाई सफल बनाउनुपर्दछ’ भन्दै आचार्यले बुद्धिजीवी परिषद्को नवगठित कार्यसमितिलाई पालिकास्तरमा पनि कमिटी निर्माण गर्न उनले निर्देशन दिएका छन् ।
त्यसैगरी कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै नवगठित कार्यसमितिका अध्यक्ष भोजराज श्रेष्ठले पार्टीभित्र वैचारिक संघर्ष गर्दै संगठन विस्तारलाई व्यापक बनाउने बताए । भेला हिक्मतबहादुर बस्नेतले सञ्चालन गरेको उक्त भेलामा कार्यक्रममा नेकपा एमाले १ नम्बर प्रदेश अध्यक्ष घनेन्द्र बस्नेत, केन्द्रीय सदस्यहरू जीवन घिमिरे, महेश रेग्मी, नेकपा एमाले नेपाल समूहका मोरङ अध्यक्ष चन्द्रबीर राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना दिदै संविधानसभा सदस्य तथा पार्टीका १ नम्बर प्रदेश नम्बर १ सदस्य मीना यादवले पार्टीभित्र सामन्ती प्रथा हावी हुन थालेको गुनासो गरिन् । ‘अहिले कोरोनास“ग लड्नु कि पार्टीभित्रको ओलीसंग लड्नु ?’ यादवले भनिन्, ‘अहिले कोरोना कहर र ओली कहर दुवैको दुःख छ ।’
यसैबीच शनिबार सम्पन्न भेलाबाट प्रा कृष्ण पोखरेलको संयोजकत्वमा नेपाल बुद्धिजीवी परिषद् मोरङको १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा डा. महेश न्यौपाने, डा. मेदनीप्रसाद सेढाईं, पेशल न्यँैपाने, टेकेन्द्र पोमू, उमेशचन्द्र न्यौपाने, माधव भट्टराई, मोहनप्रसाद श्रेष्ठ, तोयानाथ घिमिरे, लक्ष्मी श्रेष्ठ, बोधहरि आचार्य, देवी लुईंटेल, राजेन्द्र सुवेदी, देवीबहादुर घिमिरे र टेकबहादुर थपलिया चयन भएका छन् ।