विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाबाट असोज २४ गते पारित विधेयकलाई प्रदेशका विभिन्न राजनीतिक दलले ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन्।
विधेयक पारित भएपछि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यसलाई भाषिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण कदम भनेका छन्।
विधेयकअनुसार नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।
बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै विज्ञप्तिमा भाषा समुदायको इतिहास, संस्कृति, सभ्यता, पहिचान र आत्मसम्मानको आधारसमेत रहेको जनाइएको छ। संविधानको मर्म, समावेशिता, समानता र सामाजिक न्यायलाई आत्मसात् गर्दै विधेयक पारित हुनु सकारात्मक उपलब्धि भएको उनीहरूको भनाइ छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयक पारित हुनुलाई एक ऐतिहासिक उपलब्धि भएको ठहर गरेका छन्। सोही खुसीयालीमा आज साँझ ६ः३० बजे प्रदेशका सबै पालिका केन्द्र, सेवा केन्द्र तथा शहर – बजारहरूमा सामूहिक रूपमा दीपावली गर्न आह्वान गरिएको छ।

विज्ञप्तिमा विधेयकले भाषिक विविधताको संरक्षण, मातृभाषाको सम्मान र राज्यका निकायमा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था, बजेट, जनशक्ति, भाषिक स्रोतसाधन र संस्थागत संरचना निर्माण गर्न प्रदेश सरकारसँग आग्रहसमेत गरिएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष दीपक याख्खाले हस्ताक्षर गरेका छन्। उनीहरूले भाषिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धनमार्फत समावेशी, न्यायपूर्ण तथा समुन्नत कोशी प्रदेश निर्माण गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।