विराटनगर । ओली सरकारको पालामा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनले आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका छन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज इन्धनको आपूर्ति र वितरण प्रणालीलाई अवरुद्ध पारिएको हो ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगर, ढुवानीका ट्याङ्कर, वितरण गर्ने पेट्रोलपम्पमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विपक्षी विद्यार्थी संगठनको हैसियतले घोषणा गरिएको आन्दोलन सत्तापक्ष हुँदा समेत कायम गरिएको हो ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन र अखिल (छैटौं)ले आवद्ध विद्यार्थीहरुले विरानगरका पेट्रोलपम्प तथा नेपाल आयल निगममा इन्धन ढुवानी गर्ने सवारी साधनलाई अवरुद्ध गरेका हुन् । पेट्रोलपम्पबाट वितरण हुने इन्धनमा पूर्ण रुपमा रोक लगाइएको अनेरास्ववियु केन्द्रीय सदस्य रोहित गौतमले जानकारी दिनुभयो ।