बिर्तामोड । आन्दोलनकारीको डर, धम्कीबाट पछि नहटेका सुरुङ्गाबासीले बन्द निषेधित अभियान सुरु गरेको झण्डै १० वर्ष पुग्न लागेको छ । २०६३ साल माघ २८ गते आइतबार हातहतियारसहित पुगेका आन्दोलनकारीलाई धपाउन एकजुट भएका सुरुङ्गाबासीको साहस अझै उस्तै छ । मुलुकमा हुने गरेका
सोही दिन वारपार भाला रोपिएका कनकाई नपा–१ का विष्णु ओली बन्द, हड्ताल आउनसाथ झस्किन्छन् । १० बजे घरबाट निस्किएका ओली बेलुका घर फर्कन सकेनन् । ११ दिनसम्म आईसीयूमा बसेर फर्किएका उनको घाउ बन्द, हड्तालमा झस्किन्छ । ओली भन्छन्–‘मेरो शरीरमा भाला रोपिए पनि बाँचे । तर, हाम्रो सुरुङ्गा बन्द निषेधित अभियानमा सफल भयो ।’
यसरी खुशी बाँड्ने सुरुङ्गेली धेरै छन् । देशमै नमूना बनेको बन्द विरोधी सहर सुरुङ्गा अहिले पनि खुल्ला छ । दैनिक मजदुरी गरेर रोजीरोटी टार्नेहरुका लागि सुरुङ्गा सहज बनेको छ । वाणिज्य संघ सुरुङ्गाको पहलमा बन्द निषेधित अभियान सुरु भएपछि स्थानीय राजनीतिक दलले पनि खुलेरै सहयोग गरे । सुरुङ्गा क्षेत्रका अगुवा युवा व्यवसायी लीला चिमरिया भन्छन्–‘राजनीतिक दलको सहयोगबाट सुरुङ्गा अगाडि बढ्न सफल भयो ।’ बन्द निषेधित अभियान सुरु गर्न तत्कालीन वाणिज्य संघ शाखा सुरुङ्गाका अध्यक्ष रुद्र चिमरियाले धेरै नै चुनौती व्यहोरेको बताइन्छ । उनीसँगै बन्द निषेधित अभियानको अगुवाई गर्नेहरु धेरैले त्यस्तै चुनौती व्यहोर्दै आएका छन् । चिमरिया भन्छन्–‘यो अभियानमा हामी सफल भएका छांै । दैनिक मजदुरी गरेर दैनिक जीवन टार्ने श्रमिकका लागि बन्दले प्रभाव पारेको छैन । ऋण लिएर व्यवसाय गर्नेलाई, भार परेको छैन ।’ उनका अनुसार बन्द गर्ने राजनीतिक दलको उचाई बढ्दैन, दलहरुले बन्दको कार्यक्रम बनाउने पनि होइन । माग सम्बोधन जनताले गर्ने होइन, जहाँ सम्बोधन हुन्छ, त्यहाँ दवाब दिनुपर्ने चिमरियाको भनाइ छ ।
कनकाई नगरपालिका धार्मिक एवम् पर्यटकीय क्षेत्र भएकाले पनि सो क्षेत्रका अगुवा बन्द निषेधित क्षेत्रका लागि तल्लिन भएको अगुवाहरुको भनाइ छ । ‘मलामी आउनेलाई बिस्कुट किन्न नदिनु कति मानवीयता हो ?’ युवा व्यवसायी चिमरिया थप्छन् । तत्कालीन आन्दोलनकारीको एउटा सानो समूहले सुरुङ्गाबासीसँग धावा बोलेपछि बन्द निषेधितको अभियान सुरु भएको घाइते बनेका ओली स्मरण गर्छन् । उनीसँगै धेरै सर्वसाधारण घाइते भएका थिए । ‘हातहतियार बोकेर सुरुङ्गेली नागरिकसँग टक्कर लिन आउने भएपछि हामी भिड्न तयार भयौं’,ओली थप्छन्,‘आज मेरा हातमा स्टील छन्, प्लाष्टिकको आन्द्रामा बाँचेको छु ।’
स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था, युवा क्लब, स्थानीयबासीले सहयोग गरेपछि सुरुङ्गामा बन्दको प्रभाव पर्न नसकेको उद्योग वाणिज्य संघ कनकाईका अध्यक्ष युवराज संग्रौला बताउँछन् । ‘आन्दोलनलाई सफल बनाउन बन्द गर्दिनु पर्छ भन्दै धेरै फोन आए, फोन मात्र होइन, ज्यान लिने धम्की पनि आए । सुरुङ्गेली एकताले गर्दा कसैले साहस गर्न सकेनन्’, संग्रौला भन्छन् । अभियानलाई सफल बनाउन रातारात बैठक बस्नुपर्ने, मोबाइलको सीम परिवर्तन गर्नुपर्ने भयो । बन्द गर्न कोही आए भने विरोधमा बालकदेखि बृद्धासम्म निस्किन्छन् । सबैको हातहातमा सुरक्षाका लागि सामग्री लिएरै निस्कन्छन् ।
२–३ वर्षअघि सुरुङ्गाको अभियान तोड्न बन्दकर्ताले ठूलै शक्ति प्रदर्शन गर्न खोजे पनि सुरुङ्गा बजार पूर्वको पुलमा रोकियो । ‘जिल्लास्थित सबै सुरक्षा निकायले अभियानलाई सफल बनाउन सहयोग पुर्याएकाले बन्दको अनुभूति गर्नु परेको छैन’, अध्यक्ष संग्रौला भन्छन् ।
मधेश सम्बद्ध राजनीतिक दलले घटना सिर्जना गरेका थिए । त्यो घटनाबाटै सुरुङ्गाको अभियान पनि थालनी गरिएको सुरुङ्गाका एक अगुवा बताउँछन् । बन्द निषेधित अभियानको पहिलो र अन्तिम प्रयास भएको अध्यक्ष संग्रौलाको भनाइ छ । जिल्लाको सबै सहर बजार बन्द गरेका छौं, तपाईंको सुरुङ्गा बन्द गर्न नमिल्ने ? माछाको चारो बन्नुपर्ला जस्ता आवाज सुन्नुपरेको संग्रौला सुनाउँछन् ।
बन्द निषेधित अभियानमा एमाओवादीले तत्काल सहमति गरेपछि नेतृत्वसँग बेलाबखत खटपट पनि हुने गरेको बताइएको छ । एमाओवादी कनकाईका संयोजक लक्ष्मी गुरुङ भन्छन्–‘सहमति गर्न कसले लगायो भनेर नेतृत्वबाट दवाब आउँछ ।’ ‘पार्टीले घोषणा गरेको बन्दमा नेतृत्वसँग ‘अन्डरस्ट्यान्डिङ’ गर्न हम्मेहम्मे पर्छ’, गुरुङले भने । सामाजिक रुपमा पहिचान बनाइसकेको बन्द निषेधित सुरुङ्गाको अभियान रोक्न नसकिने संयोजक गुरुङ्ग बताउँछन् ।