विराटनगर ५ स्थित एक घरमा मध्यरातमा कोभिड १९ विरुद्धको खोप लगाउदै गरेको खबर फैलिएपछि पुगेको स्थानीयले अवरोध गरेका छन् । अवरोध गर्ने स्थानीयले नेपाली काँग्रेसका बुथ सभापति बिमल राज भण्डारीको घरमा खोप लगाउन जम्मा भएको थाहा भएपछि आफुहरुले अवरोध गरेपछि खोप लगाउन र लगाई दिन आएका मेयर भीम पराजुली लगायतका अन्य व्यक्तिहरु भागेको जानकारी दिएका छन् ।
उक्त स्थानबाट सामाजिक संजालमा प्रविण निरौला भार्द्वाजले गरेको लाईभ भिडियोमा काँग्रेसका अरुण न्यौपाने लगायतका नेताहरु समेत भाग्दै गरेको देखिएका छन् भने स्थानीयले सो स्थानमा विराटनगरका मेयर भीम पराजुलीको उपस्थितिमा खोप लगाईएको दाबी गरेका छन् । यद्यपी भिडियोमा मेयर पराजुली देखिएका छैनन् ।
घटनास्थलमा पुगेर सो घटनाको विरोध गर्न पुगेका काँग्रेस नेता दीपक चापागाँईले बृद्धबृद्धा, कर्मचारी र फ्रन्टलाईनरहरुले दिनभरी तातो घाममा उभिएर पनि खोप लगाउन नपाएको अवस्थामा यसरी आफ्नो वरिपरिको कार्यकर्तालाई रातको समय लुकेर खोप लगाउनु भ्रष्टाचार भएको भन्दै घटनाको बिरोध गरेका छन् ।
यस घटनाको सन्दर्भमा थप विवरण र रिपोर्ट अपडेट गरिनेछ ।