विराटनगर । प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । १० जना सांसद नेकपा (एस) मा जाने तयारीमा रहेपनि बाँकी दुईजनाको कागजात मिलाउन ढिला हुँदा निर्वाचन कार्यालयमा पुगेका छैननु । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई सनाखतका लागि अन्यसँग देखिएका छैनन् ।
नेकपा एसको पक्षमा सनाखत गर्न राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, राजन राई, सुनिता चौधरी, गणेश काम्बाङ, सरिता थापा, साबित्रा कुमारी रेग्मी, पदम कुमारी गुरुङ उपस्थित भएका छन् । दुई सांसद किन उपस्थित भएनन् भन्ने खुलाइएको छैन । नेकपा (एस) ले १० जना सांसद सनाखत गर्ने दाबी गर्दै आएको थियो । नेताहरुले जम्मा १३ जना हुने भएकोले बाँकी तीनजनासँगै अन्य दुईले सनाखत गर्ने दावी गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधि पनि सनाखतको प्रक्रियामा सहभागी हुन थालेका छन् । १२ बजेसम्म मोरङको बुढिगङ्गा गापा ४ का वडाध्यक्ष कासिम मिया, ५ का वडाध्यक्ष रमेश खनाल र ४ कै दलित महिला सदस्य लिलादेवी पासवानले नेकपा (एस) मा जान सनाखत गरेका छन् ।