सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका २ र ३ को सिमानामा रहेको मरिया होलीको बाहुन डोब सुकुम्बासी बस्तीमा तोडफोड तथा हातपात भएको छ । सोही स्थान बस्ने स्थानिय नर बहादुर भण्डारीले तोडफोड तथा हातपात गरेका हुन ।
मरिया होलीको ३ बिघा क्षेत्रफल रहेको ऐलानी जमिन मध्येको डेढ बिघा जमिनमा बस्दै आएका ३० घर सुकुम्बासी मध्येको ५ वटा घरमा भण्डारी नेतृत्वमा आएको टोलीले तोडफोड तथा हातपात गरेको हो ।
करिब ७ महिना अघि देखि ३० घर धुरीका करिब १ सय जनाको सख्यामा बसोबास गर्दै आएका मध्ये गौरी देवि शर्मा,किशन हेमरोन,बाह हेमरोन, शुनामुनी सोरेन र सिता राजवंशीको घरमा भण्डारी नेतृत्वको टोलीले तोडफोड तथा हातपात गरेको पिडित राजु मर्डीले बताए ।
गत भदौ ८ गते बेलुका ४ बजेको समयमा घरमा कोही पनि मानिस नभएको अवस्था छोपी भण्डारीको नेतृत्वमा भारतको बिहारबाट आएका करिब १२ जना हतियारधारी समुहले उनिहरुको घरमा तोडफोड र सुकुम्बासीलाई कुटपिट गरेको पिडित सिता राजवंशीले गहभरि आँसु पार्दै दुखेसो पोखिन । बिहारीहरुको समुहले स्थानिय सुकुम्बासी लुखिराम हेमरनलाई आक्रमण गरि घाइते बनाएको पिडित लुखिरामले बताए । उनको हात र टाउको चोट लागेको छ ।
सो समुहले स्थानिय सुकुम्बासी सोनामुनि सोरेनको वृद्ध भत्ताबाट प्राप्त गरेको १२ हजार नगद र चाँदीको माला समेत लुटेर लगेको पिडित सोरेनले दुखेसो पोखिन । स्थानिय सुकुम्बासी चरण बास्कीले करिब २५ बर्ष अगाडि देखि सो ऐलानी जग्गा कमाउँदै आएको र त्यसको अदिया, ठेक्का स्थानिय ओमराज अधिकारीलाइ बुझाँउदै आएको सुकुम्बासी चरण बास्कीले बताए ।
सुकुम्बासीहरुको समुहले आफुहरुलाई बसोबासको व्यवस्था मिलाइदिन पटक पटक सुनवर्षी नगरपालिकामा आग्रह गरे पनि स्थानिय सरकारले आफुहरुको समस्याको बिषयका कुनै पनि चासो नदेखाएको राजु मर्डीले गुनासो गरे । सुनवर्षी नगरपालिका वडा ३ का अध्यक्ष टेक बहादुर बिष्टलाई समेत पटक पटक आफ्नो समस्या सुनाउँदा उनले गैर जिम्मेवारी जवाफ दिने गरेको मर्डीले सुनाए ।
पिडित सुकुम्बासीहरूले आफ्नो गाँस र बाँसको व्यवस्था मिलाई न्याय दिलाई दिन समेत सम्पूर्णमा आग्रह गरेका छ्न । सुकुम्बासी बस्ती रहेको मडिया होलीमा हाल निरन्तर आएको बर्षाका कारण बाढी पसेर सो बस्ती डुबानमा परेको छ ।