विराटनगर
युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी महासंघ र होटेल संघ नेपालले संयुक्त रुपमा प्रदेश एकमा इम्प्लोयर लेड लेबर मार्केट सेक्रेटेरियट (इएलएमएस) ले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
२०२० नोभेम्बरदेखि कार्यान्वयनमा आएको इएलएमएसले कृषि, निर्माण र पर्यटन क्षेत्रमा निजी क्षेत्रको आवश्यकता अनुसार पेशागत वर्गीकरण मापदण्ड र श्रम बजार सूचना प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ । परियोजनाका टिमलिडर चन्द्रकान्त अधिकारीका अनुसार प्रदेश एकका उदयपुर, मोरङ, इलाम र सोलुखुम्बुमा संचालन हुनेछ ।
परियोजनाले निजी क्षेत्रको माग बमोजिम कृषि, निर्माण र पर्यटन क्षेत्रमा ३० वटा पेशाहरुको पहिचान गर्दै पेशागत मापदण्ड निर्माणको प्रक्रिया समेत सुरु गरिसकेको छ । प्रदेश एकमा समेत परियोजनाले काम बढाउने तयारी स्वरुप चार जिल्लाका सरोकारवालासँग सोमबार अभिमुखिकरण गरेको हो। सुन्दर हरैचास्थित होटल नेपालीेरिकामा सरोकारवालासँग अन्तक्रिया आयोजना गरिएको छ ।
श्रम बजारसम्बन्धी सूचना प्रणालीको विकास गर्न निजी क्षेत्रको रोजगारदाताहरुसँग राष्ट्रिय तहको सर्वेक्षण गरिने परियोजनाले जनाएको छ। नेपालमा रोजगारदाताहरुको आवश्यकता अनुसार बजारमा श्रम बजार सूचना प्रणालीको विकास र सोअनुसार ५ वटै सदस्य संस्थाहरु माझ सर्वेक्षण गर्न मापदण्ड तोकिएको छ।
उक्त मापदण्ड अनुसार २४ वटा जिल्ला छनोट भइसकेका छन्। श्रम बजार सूचना प्रणालीका लागि छानिएका जिल्लाका प्रमुख पदाधिकारीहरुलाई श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण गर्ने र सर्वेक्षणका लागि आवश्यक समन्वय र साझेदारी गर्न सातै प्रदेशमा श्रम बजार सूचना प्रणाली र रोजगारदाताको नेतृत्व सम्बन्धी कार्यशाला गरिदै आएको छ ।
यो कार्यले नेपालको श्रम बजारमा प्रगतिशील परिवर्तन ल्याई आर्थिक समृद्धि, दिगो श्रम बजारको निर्माण गरी समग्र मुलुककै दिगो बिकासमा समेत योगदान पुर्याउने लक्ष्य लिएको परियोजनाले जनाएको छ।
उक्त परियोजना प्रदेश एकमा उल्लेखित चार जिल्लासहित धनुषा, बारा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, चितवन, मुस्ताङ, कास्की, तनहुँ, नवलपुर, पाल्पा, गुल्मी, रुपन्देही, दाङ, जुम्ला, सुर्खेत, बझाङ, डडेलधुरा, कैलाली र काठमाडौं उपत्यकामा सञ्चालित छ।