व्यास व्यक्ति कि परम्परा ?यो अहिलेको सन्दर्भ नभएर भागवत पढाइ र प्राप्त शिक्षा अहिलेको सन्दर्भ हो ।मैले भागवत धार्मिक दृष्टिले भगवतप्राप्तिका लागि पढेको होइन।व्यासासनमा बसेर कथावाचनबाट नाम र दाम कमाउन पनि होइन।कुनै मोक्ष वा वैकुण्ठप्राप्तिका लागिपनि नभएर खुला मस्तिष्कले पढ्ने काम गरें।र के कुरा बुझें भने भागवत भनेको व्यासको कवित्व-शक्ति, कल्पना र स्वैरकल्पनाको उच्चतम प्रयोग,सशक्त बिम्ब-प्रतीक मनोरम शिल्प-भाव, सबल सर्गबन्ध,कसिलो संरचना कविताको अभिधा-लक्षणा र अधिकतम व्यञ्जनाको मोहिनी, कालजयी र जीवन उपयोगी आख्यान र आख्यानीकृत जीवन-दर्शनले भरिपूर्ण सुन्दर महाकाव्य हो ।स्वैरकल्पना र प्रतीकात्कताको कारणले दैवी जस्ता लागेपनि ती आख्यानको सान्दर्भिकता आज पनि छ।तर पण्डित-पाखण्डीहरुले यो उच्चतम साहित्यिक महाकाव्यलाई शब्दमा सीमित गरेर पाप पखाल्ने साबुन,प्रेत तारण गर्ने साधन,मुक्तिको मन्त्र,कान पवित्र पार्ने रसायन,धर्मको पोको,स्वर्ग जाने भर्याङ,पेटपालन र कमाइको स्रोत बनाएर चरम अपव्याख्या गरिदिए।यसको चौचित्य जीवनलाई सत्कर्ममा प्रेरित गर्नु भएपनि भागवतलाई मरेपछि स्वर्ग लैजान घिस्याउने दाम्लोको रूपमा पाखण्डीले प्रयोग गर्दायो सार्वजनीन कृति धर्मको पिंजडामा कैद भयो र कथावाचनको नाममा केवल अक्षरमा टेकेर सुगापाठमा सीमित हुनगयो ।यसले केहीलाई नाम र दाम दिएको छ,कतिपय संस्थाको आयको स्रोत बनेको छ धर्मको नाममा धन दुहुने साधन बनेको छ।र यो गतिलो महाकाव्य धार्मिक अपव्याख्याको शिकार बनेको छ।यसो भन्दै गर्दा धर्मका ठेकेदार र तिनले सम्मोहित गरिसकेका धर्मान्धलाई चोट पर्छ नै तर कुरो त्यही हो ।
केही दिनअघि एकजना स्वघोषित धर्मगुरुसँग भेट भयो,जो स्वयंलाई भागवतको ठेकेदार ठान्दारहेछन्।उनी आफूलाई के ठान्छन् त्यो उनको कुरा हो।तर स्वयंलाई भागवतको विशेषज्ञ भनाउँन बाँकी दुनियाँलाई तथानाम गर्ने अधिकार उनलाई वा कसैलाई हुँदैन।आफू र आफ्नो मण्डलीबाहेक अरुलाई भागवतको सामान्य ज्ञानसम्म नभएको र टाकटुके पाराले काम चलाएको उनको आरोप थियो।भागवतको भित्री रस र बाहिरी कथामा एकमात्र आफूले डुबेर ज्ञान प्राप्त गरेको हुँदा चाहनेलाई नि:शुल्क पढाउने,भागवतको कथाले कलियुगका सबै मानव-प्रेतको रूपमा बाँचेका धुन्धुकारीलाई मुक्तिप्रदान गर्ने गर्जन गर्न पनि भ्याए।अनि आफ्नो भागवत-ज्ञानको ठेकेदारीमा अरुले अन्यथा अर्थ लाउनु महापाप हो भन्न पनि चुकेनन्।
मेरो बुझाइ नै अन्तिम हुने कुरा थिएन।भागवतका ठेकेदारको आत्मरति,आत्मप्रशंसा र अभिमानपूर्ण पाखण्डप्रदर्शन सँग मलाई लिनु-दिनु थिएन तर यति धेरै डुक्रिनेले पक्कै नयाँ कुरोको चुरो फेला पारेको हुनुपर्छ भन्ने ठानेर सबै बकबास पचाएर शिर निहुर्याउँदै गएँ।उनले भागवतभित्रको कविता आख्यान र मनोविज्ञानलाई त छोएनन् नै शब्दले बोलेको सोझो कथालाई सुगाशैलीमा सुनाउनुबाहेक केही जानेको देखिएन।अँ बेलाबेला भागवतको संस्कृतका श्लोक भने सुनाएर बुझ्नु भयो कुरा भन्न चाहिं चुक्दैन थे।
नेपालको राजनीति र लोकतन्त्रलाई जनताले बदनाम गराएको नभई राजनीति र लोकतन्त्रकै ठेकेदारले बदनाम गराएका हुन्।धर्म र संस्कृतिलाई तिनकै ठेकेदारले अपव्याख्या गरेर बदनाम गराउँछन् ।भागवतका यस्ता ठेकेदारले भागवतको चीरहरण गरेजस्तै साहित्यको सन्सारमा पनि यदाकदा त्यस्ता ठेकेदार पण्डित पैदा भए के होला ? आखिर काँडालाई काँले झिक्छ र फलामलाई फलामले काट्छ भने कुनै कुरालाई बदनाम गराउने तत्व त्यहींभित्रका अतिवादी र स्वर्थीका बीचबाट जन्मन्छन्। मैले बुझेको भागवतको कुरा गरेको भए पाखण्डी पण्डित र तिनका चेला-चपाटीले उल्टै मेरो बदनाम गर्ने थिए तसर्थ मैले मौनतालाई अपनाए किनकि हुलमुलमा जीउ जोगाउन पुर्खाले सिकाएका थिए।कतिपय साथीका सिर्जनामा अलि खरो टिप्पणी गर्दैगर्दा कतै म पनि ज्ञानको अपच र सुगा-ज्ञानको प्रदर्शन गरेर कथित ठेकेदारी त चलाउन खोज्दैछुइँन? भन्ने लाग्न थालेको छ।
यदि यसो हो भने वर्तमानलाई त पेलपाल गरौंला तर भविष्यको मुख त किमार्थ म टाल्न सक्दिंन।मेरा सोच-विचार टिप्पणीलाई फेसबुकमा हजारौंले हेरेका हुन्छन्।सहमति वा असहमति जनाएका हुन्छन्।कतिले त सुरक्षित राखेका हुन्छन् कपी गरेर।मेरा वाणीले पनि इतिहासलाई उत्तर दिनुपर्छ।सायद यसै डरले म झुठो प्रशंसा गरेर इतिहासमा लज्जित हुन चाहन्न र ठकेदारीबाट पनि सकेसम्म टाढा हुने प्रयास गर्दागर्दै पनि देखेको कुरा प्वाक्क बोल्दा तपाईलाई त बिझेको छैन ?