विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर महानगर समितिको अधिवेशनका लागि नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय मतदान केन्द्र तोकिएको छ । शुक्रबार बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिएको छ ।
त्यसपछि नामावलीमा भएको त्रुटि सुधारको समय दिइएको थियो । आज ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । त्यसपछि दाबी विरोध, मनोनयन फिर्ता हुँदै साँझ ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुने मोरङका निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए ।
सभापतिका उम्मेद्वारले ५ हजार, उपसभापति र सचिवले ३ हजार, सहसचिव र सदस्यले २ हजार मनोनयन शुल्क तिरेर उमेद्वारी दर्ता गर्नेछन् । शनिबार विहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । विराटनगर महानगर अधिवेशनका लागि वडा समितिका सभापति र निर्वाचित क्षेत्रीय प्रतिनिधि गरी ६ सय ३४ मतदाता रहने जनाइएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार गाउँ-नगर अधिवेशनबाट मोरङका १७ पालिकामा सभापति एक जना, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई जना निर्वाचत हुनेछन् । कोषाध्यक्षपछि निर्वाचित कार्यसमितिले मनोनित गर्ने प्रावधान छ । सदस्यहरुको संख्या भने मतदाता संख्याको आधारमा कायम हुने छ । १९ वटा वडा रहेको विराटनगर महानगरमा सभापतिसहितका पदाधिकारी र सदस्य गरी ५७ जना निर्वाचित हुने छन् । खुल्लातर्फ २२ र समावेशी १६ गरी थप ३८ जना सदस्य पनि निर्वाचित हुने छन् । सबै गरी ९२ जनाको महानगर समिति निर्वाचित हुने जनाइएको छ । उक्त निर्वाचित कार्यसमितिले १० प्रतिशत सदस्य भने पछि मनोनयन गर्ने व्यवस्था रहेको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार हुने विराटनगर महानगर अधिवेशनमा सभापतिसहित सात पदाधिकारीका लागि डेढ दर्जन बढि आकांक्षी देखिएका छन् । विराटनगरमा सभापतिका पदका चार जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अधिवेशन हुन दुई दिन बाँकी रहँदा उपसभापतिदेखि सहसचिवसम्मका उम्मेद्वार मैदानमा देखिएका छन् । विराटनगर महानगर सभापतिमा दीपक चापागाँई, अरुण न्यौपाने, सन्तोष न्यौपाने, कृष्ण कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सन्तोष बाहेकका तीनजना कांग्रेसमा पौडेल–कोइराला समूहका हुन् ।
सन्तोष न्यौपाने संस्थापन देउवा लाइनबाट नगर सभापतिको उम्मेद्वारी बन्न लागेका हुन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको साथ छ । दिपक चापागाँई, अरुण न्यौपाने र प्रकाश दाहाल पौडेल–कोइराला समुहमा स्पष्ट खुलेका विद्यार्थी नेता हुन् । उनीहरुमध्ये चापागाँईलाई डा.शेखर कोइरालाले अगाडी सारेको दावी छ ।
त्यसैगरी दुई उपसभापतिमा प्रवीण जोशी, निरज कोइराला र धनराज तामाङले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई सचिवका लागि सुजन दाहाल, तेजिन्द्र भट्टराई, झुमा निरौला गौतम र पेशल ढुंगेल आकांक्षी देखिएका छन् । दुई सहसचिव पदका लागि सचिन पोखरेल, दिवश नेपाल, गिरिशकुमार कोइराला र शिव पराजुली ‘शिशिर’ चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् ।