विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन बैंकको शाखा लुट्न खोज्ने तीन जनालाई पक्राउ परेका छन् ।
दुई जना भारतीय र एक नेपालीलाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट पक्राउ गरेको हो ।
प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारीदिनुभयो ।
बैंक लुट्ने प्रयासपछि को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक बिजय बहरदार भाग्न खोजेपछि गोली प्रहारगरेको थियो । उनको बायाँ खुट्टामा गोली लागेको छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङदेखि बरामद गरेको छ । प्रहरीले पेस्तोल बाँसझ्याङमा रातो कपडाले बेरेको अवस्थामा बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलि घटनास्थलमा रहेको छ । बैंकका कर्मचारीले दिएको जानकारी अनुसार सोमबार दिउँसो आठ जनाको संख्यामा लुटेराको समूह आएको बताएका छन् । उनीहरुले बैंकका सुरक्षा गार्डलाई गोली हानेर काउन्टरमा लुटपाट गर्ने प्रयास गरेका थिए । बैंकको काउन्टरबाट पैसा लुट्टा बाहिरी परिसरमा छरपस्ट भएको थियो ।
बैंकबाट कति पैसा लगे भन्ने यकिन भने भएको छैन । तर, बैंकको सेवाग्राही उभिने स्थानमा भने पैसा छरिएको देखिन्छ । प्रहरीले त्यसको समेत अनुसन्धान गरिरहेको छ ।
तस्वीर : रबिन्द्र बराल