पहिलो लिम्बू संग्रहालय ओझेलमा

<span class='c1'>पहिलो लिम्बू</span> <span class='c2'>संग्रहालय ओझेलमा</span>

चन्द्र पन्दाक/गाेरखापत्र
ताप्लेजुङ ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो र व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएको हो ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालयको उचित व्यवस्थापन र सारोकारवालाले संरक्षणका लागि चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ । लिम्बू समुदायको पहिचान झल्काउने पुरातात्विक र ऐतिहासिक सामग्री सङ्कलन गरेर राख्नका लागि नेपालमै पहिलो पटक २०५७ सालमा उक्त संग्रहालय स्थापना गरिएको हो ।
लिम्बूको पहिचान झल्कने सामग्री प्रदर्शन र अध्ययन तथा अवलोकन गराई पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य राखेर स्थापना गरिएको संग्रहालय गुमनाम (बेखबर)जस्तै बन्दै गएको छ । संग्रहालयमा संग्रहित सामग्रीको उचित व्यवस्थापन नहुँदा पुरातात्विक सामग्रीहरु जीर्णसमेत बन्दै गएका छन् । संग्रहालयमा लिम्बू समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएको हात हतियार, शिकार गर्दा प्रयोग गर्ने आवश्यक सामग्रीहरु तथा लिम्बू समुदायको जन्म र मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्रीहरु सङ्कलन गरेर राखिएको छ ।
त्यस्तै विक्रम् सम्बत् १८१४ र १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सन्धि–सम्झौता र युद्धमा प्रयोग गरिएको ढालहरुलाई संग्रहालयमा संरक्षण गरेर राखिएको छ । लिम्बू समुदायका पुर्खाहरुको पालादेखि प्रचलनमा रहेको फेदाङ्मा र विजुवा (झाँक्री तथा पुजारी) ले प्रयोग गर्ने पहिरन जामा, पगरीजस्ता सामग्री संग्रहालयमा संग्रहित गरिएको छ । जुन संग्रहालयमा संरक्षण गरी राखिएको प्राचीन पुरातात्विक सामग्रीहरु हाल कतिपय लोप भइसकेका छन् भने केही लोपोन्मुख हुँदै गएका छन् ।

यसरी लिम्बूका पुर्खाहरुको पालामा प्रयोग भएका हाल लोप हुँदै गएका घरेलु तथा प्राचीन सामग्रीहरुको अध्ययन साथै अवलोकन गर्न सकिने भए पनि कमजोर व्यवस्थापनका कारण संग्रहालय ओझेलमा रहेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर जाने पदर्मागमा रहेकाले आन्तरिक साथै बाह्य पर्यटक समेतले अध्ययन अवलोकन गर्ने केन्द्र बन्नसक्ने सम्भावना भए पनि अहिलेसम्म संग्रहालय ओझेलमा परेको बताइएको छ ।
त्यसो, त जिल्लाका अधिकांश ठाउँमा सडकको पहुँच पुगेको भए पनि लिम्बू संग्रहालय रहेको मामाङ्खेमा अहिलेसम्म सडकले छोएको छैन । मामाङ्खेसम्म सडक पहुँच बिस्तार भएमा साथै संग्रहालयबारे आवश्यक प्रचारप्रसारसहित व्यवस्थापन गरिएमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयवासी बताउँछन् ।
पर्यटकीय केन्द्र बन्ने प्रशस्त सम्भावना भए पनि संग्रहालय व्यवस्थापन समितिले आवश्यक चासो नदिएकै कारण ओझेलमा परेको स्थानीय लोकेन्द्र लिम्बूको आरोप छ । उहाँका अनुसार संग्रहालय स्थापनाको केही वर्षसम्म निश्चित शुल्क बुझाएरै स्वदेशी तथा विदेशी खोज अनुसन्धानकर्ताले संग्रहालयको अध्ययन तथा अवलोकन गर्ने गरेका थिए । पछिल्लो समय उचित व्यवस्थापन हुन नसकेका कारण संग्रहालयको अध्ययन तथा अवलोकन हुन छोडेको स्थानीयको बुझाइ रहेको छ ।

यता संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष टीका माबो लिम्बूले भने संग्रहालयको थप व्यवस्थापनका लागि आर्थिक जुटाउन नसकेकै कारण ओझेलमा परेको बताउनुभयो । संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक सामग्रीहरु प्रशस्तै संरक्षण गरेर राखेको भए पनि प्रदर्शन तथा व्यापक प्रचारप्रसार लगायतका कार्य बजेट अभावले गर्ने नसकेको लिम्बूको भनाइ छ ।

स्थानीय बौद्धिक व्यक्तित्व डा. चित्र माबो लिम्बूले संग्रहालयको प्रवद्र्धनका लागि गुरुयोजना बनाएरै काम अघि बढाउने तयारी रहेको सुनाउनुभयो । उता लिम्बू समुदायको पहिचान र इतिहासलाई संरक्षण गर्ने कुरामा स्थानीय, प्रदेश हुँदै सङ्घसम्म प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले आवश्यक पहल र सहयोग गर्ने आश्वासन दिँदै आएका पनि डा. लिम्बूले बताउनुभयो । संग्रहालय व्यवस्थापनका लागि बजेटसहित आवश्यक सहयोगको अपेक्षा स्थानीय तथा व्यवस्थापन समितिले गर्दै आएको बुझिएको छ ।

सिसिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालय । तस्बिर - चन्द्र पन्दाक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्