विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दिएको लिखित राजिनामा स्वीकृत नयाँ सरकार गठनको बाटो खुलेको छ ।
सोमबार मुख्यमन्त्री आचार्यले दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नयाँ सरकार गठनका लागि मंगलबार १ बजेभित्र दाबी पेश गर्न आव्हान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले दिएको राजिनामा प्राप्त भएलगत्तै संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुुनैपनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा सो भन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यले मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी गर्नसक्ने छन् ।
एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले बहुमत गुमाएपछि आजको प्रदेशसभा बैठकमा आफ्नो ६४ दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले राजिनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री आचार्यको राजिनामा घोषणासँगै ५ दलीय विपक्षी गठनबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को तर्फबाट राजेन्द्र राईलाई प्रदेश १ को नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । ५० जना सांसदको समर्थन सहित मुख्यमन्त्री दाबी गर्न एकीकृत समाजवादीका नेता राई अहिले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
हाल भने नेकपा एमालेसँग ४१ जना सांसद रहेको अवस्थामा ५ दलीय विपक्षी गठबन्धमा ५० जना सांसद छन् । राप्रपाका १ जना सांसद तटस्थ छन् ।