प्रेम अधिकारी
पशुपतिनगर(इलाम) । इलामको सूर्योदय नगरपालिका २ का विकास प्रधानलाई यतिबेला सयपत्री फूल ओर्सान भ्याइनभ्याइ छ । घोडामा गाउँगाउँबाट फूल लगेर उहाँ बजारमा बेच्ने गर्नुहुन्छ । तिहारमा घर सजाउन प्रयोग गरिने फूल बेचेरै मनग्ये आम्दानी हुने गरेको उहाँले सुनाउनु भयो । प्रधानले भन्नुभयो ‘पशुपतिनगर र भारतका विभिन्न स्थानमा फूलको माग उच्च भए पु¥याउनै समस्या छ ।’
तिहार नजिकिएसँगै लक्ष्मीपूजा र भाईटीकामा प्रयोग हुने सयपत्री, मखमली फूलको ब्यपार बजारमा ह्वात्तै फस्टाएको छ । इलामको पशुपतिनगर, फिक्कल, इलाम बजारलगायतका क्षेत्रमा गाउँमा फुलेको सयपत्री फूल विक्रीका लागि लगिने गरिएको छ । पशुपतिनगरमा भारतीय व्यापारी र पर्यटक फूल किन्नकै लागि आउने गरेका छन् । पशुपतिनगरबाट भारतको दार्जिलिङ, सुकिया, मिरिक जस्ता बजारमा महंगो मूल्यमा फूल विक्री हुने गरेको छ ।
प्रति मुठा एक सय देखि १५० रुपियाँमा नेपालका बजारमा विक्री हुने गरेको फूल भारतीय बजारमा पुग्दा भारतीय रुपियाँ दुई सय भन्दा बढीमा विक्री हुने गरेको छ । यस पटक इलामका ग्रामिण क्षेत्रमा फूल प्रशस्त उत्पादन भएको छ । उत्पादित फूलले राम्रो बजार पाएको फूल व्यवसायीले बताएका छन् । कन्याममा फूल उत्पादन गर्दै आउनुभएका विमल आचार्यले घरमै आएर व्यापारीले राम्रो मूल्यमा फूल किन्ने गरेको बताउनुभयो ।
फूल बजारमा ल्याएर व्यवसायीले माला बनाएर समेत विक्री गरिरहेका छन । प्रति गोटा दुई सयका दरले बजारमा माला विक्री भैरहेका् छ । फूल व्यवसायमा सरकारी चासो कम भए पनि किसानले आफँै फूल उत्पादन गर्दै आएका छन ।
इलामका विभिन्न स्थानमा फूलेको सयपत्री, मखमली फूल झापासहितका तराईका जिल्ला र विशेषगरी भारतीय बजारमा गए पनि नेपालमा भने भारतबाट कृत्रिम फूल भित्रिरहेको छ । सस्तो मूल्यमा नेपालबाट भारत विक्री भएको फूलको माला बनाएर पुनः भारतीय व्यापारीले नेपाली बजारमै विक्री गर्न ल्याउने गरेको पाइएको छ ।
स्थानीयस्तरमा उत्पादन भएको फूल बाहिरिएसँगै इलामका बजार तथा ग्रामिण क्षेत्रमा समेत भारतबाट आएको कृत्रिम (प्लाष्टिकको फूल) घर सजावटमा प्रयोग भएको छ ।
इलामको पशुपतिनगरमा विक्रीका लागि घोडालाई बोकाएर फूल लगिँदै, तस्विरः प्रेम अधिकारी