अमृतप्रसाद पौडेल
बेनी । हिमालपारीको जिल्ला मुस्ताङको उच्च क्षेत्रमा अबैध चोरी सिकारी बढेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नियन्त्रणमा रहेको मुस्ताङको संरक्षित क्षेत्रमा ठूलो परिणाममा बन्यजन्तुको लागि थापिएको पासो भेटिए सँगै चोरी सिकारी बढ्न लागेको अनुमान गरिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एक्यापमा क्षेत्र पासो भेटिदा वन्यजन्तुको चोरी सिकारी भएको अनुमान गरिएको हो । शर्माका अनुसार पछिल्लो समय जंगलमा पासो थापेरै जनावर मारेको पाइए पछि चोरी सिकार भएको पुष्टि भएको छ ।
कार्तिक १६ देखि १८ सम्म बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–१ लुप्रा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा एक्याप जोमसोमको टोलीले गस्ती गर्दा जंगली जनावर मार्नका लागि थापेका पासो ठाउँ ठाउँमा भेटिएको प्रजिअ शर्माको भनाई छ ।
एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख ऋषि बरालका अनुसार वन्यजन्तु तस्करीहरुले वनक्षेत्रमा थापेको १६९ थान पासो फेला पारेको छ । तस्करहरुले मोटरसाइकल तथा स्कुटरको ब्रेकमा लाग्ने खालको फलामे तारले मजबुत खालको पासो बनाएको फेला परेको कारण उनीहरु पेशेबर तस्कर नै हुन सक्ने अनुमान गरिएको छ ।
वन गस्ती टोलीले तीन दिनसम्म गस्ती गर्दा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा जंगलमा पासोमा परी मृत फेला परेका ५ कस्तुरी र दुई रेड फक्सलाई प्रहरीको रोहबरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण क्षेत्र कार्यालय जामसोममा ल्याएर मुचुल्का उठाएर नष्ट गरीएको छ । २ वटा भाले र तीन वटा पोथी कस्तुरी, दुई वटा रातो फ्याउरो, मृत अवस्थामा फेला पारेको थियो भने पासोमा परेर फसेको अवस्थामा भेटिएको एउटा कस्तुरीलाई सामान्य उपचार पछि जंगलमै छाडिएको एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख ऋषि बरालले बताउनुभयो ।
मुस्ताङका प्रजिअ शर्माका अनुसार भेटिएका कस्तुरी भालेको बिना निकालिएको अवस्थामा थियो । कस्तुरीको बिना निकालेर लगेको फेला परेकोले गर्दा मासुका लागि भन्दापनि बिनाका लागि नै तस्करीहरुले पासो थापेर जनावर मार्ने गरेको मान्न सकिन्छ । एउटा बयस्क भाले कस्तुरीको नाभी (बिणा) २५ ग्राम देखि ३५ ग्राम सम्म हुन्छ ।
उक्त क्षेत्रमा चोरी सिकारी हुने गरेको सूचनाका आधारमा उक्त क्षेत्रको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना अन्तरगतको संरक्षण व्यवस्थापन समिति, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको टोलीले स्थलगत अनुगमन गर्दा १६९ थान पासो र दुई प्रजातिका सात वटा वन्य जन्तु मृत फेला पारेको एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख ऋषि बरालले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ द्वारा संरक्षित सुचिमा कस्तुरीलाई राखिएको छ ।
सन २०१८ मा नेपालको मुस्ताङबाट पत्ता लागेर जेनेटिक टेष्ट गर्दा समेत नेपालमा पाइएको पछिल्लो प्रजातिको कस्मीरी कस्तुरी मुस्ताङ जिल्लामा मात्रै पाइने एक्याप जोमसोमले जनाएको छ ।