काठमाण्डाै । आज विश्व शौचालय दिवस । ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
विश्वमा हरेक वर्ष नोभेम्बर १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । तर, दिवस मनाइरहे पनि नेपालका ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।
बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।
सुरक्षित शौचालय नहुँदा झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम हुन्छ । शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा यस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ ।
काठमाण्डौ महानगरमा चालु आर्थिक वर्षभित्र थप १० वटा सार्वजनिक शौचालय बन्ने
जनघनत्व बढ्दै गएको काठमाण्डौ उपत्यकामा नै सार्वजनिक शौचालयको अभाव छ ।
ठाउँठाउँमा सार्वजनिक शौचालय नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । यात्रुको सुविधाका लागि काठमाण्डौ महानगरपालिकाले थप शौचालय बनाउने भएको छ । यो चालु आर्थिक वर्षभित्रमा १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने गरी काम भइरहेको महानगरपालिकाका प्रवक्ता इश्वरमान श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार महानगरपालिकाको वडा नम्बर १०, १३, १५ र वडा नम्बर १८ र १९ को बीचमा शौचालय निर्माणकाे कार्य सम्पन्न भइसकेकाे छ भने ११ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
१४ र २० वडामा शौचालय बनाउने काम सुरु भएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडा ७, ३१ र ३२ मा छिट्टै निर्माण कार्य सुरु गर्ने तयारी छ । बाँकी अर्को आर्थिक वर्षमा बनाउने कार्ययोजना रहेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।
अहिले काठमाण्डौ उपत्यकामा भएका शौचालयको अवस्था नाजुक रहेको स्वीकार गर्दै उहाँले अब सुधारका काम सुरु भएको बताउनुभयो । महानगरपालिकाले पनि स्मार्ट शौचालय अन्तर्गत अटोमेटिक फ्ल्स र त्यहाँ प्रयोग भएको पानी फेरि प्रयोग गर्न मिल्ने बनाउने भएको छ । त्यसमा प्रयोग गर्न आकाशे पानी सङ्कलन गरिनेछ ।
यस्तो शौचालय निर्माणका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने प्रवक्ता डङ्गोलको भनाइ छ । काठमाण्डौ महानगरपालिकाले सानो स्मार्ट शौचालयका लागि डेढ करोड, मझौलाका लागि दुई करोड र ठूला शौचालयको लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ ।