विराटनगर । भुगोल नजानेको र स्थानीयस्तरको पहुँच नभएका सीमानाका प्रयोग गरेर मानव ओसारपसार हुने क्रम बढ्दै गएको सरोकारवालाहरुले दावी गरेका छन् । विभिन्न रोजगारीको बहानामा मानव बेचबिखनमा पर्नेहरुले भौगोलिक अवस्थिति नजानेको जिल्लाको खुल्ला सीमानाकाबाट ‘क्रस बोर्डर हुमेन ट्राफिकिङ्ग’ हुने गरेको हो ।
सोमवार सुनसरीको इनरुवामा प्लान नेपालको सहकार्य, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समन्वय समिति सुनसरीको समन्वयमा कोकन सुनसरीले आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्ध क्रस बोर्डर संयन्त्रसँगको समन्वय बैठकमा फरक तरिकाले हुन थालेको यस्तो कार्यलाई नियन्त्रण गर्न निगरानी बढाउनु पर्ने सुझाव दिइएको छ ।
बैठकमा भन्टाबारी नाकाकी स्थानीय अभिभावक गिता पौडेलले नाकामा निगरानी कम हुने समयमा फरक–फरक तरिकाबाट ओसारपसारका घटना हुने गरेको बताउनुभयो । स्थानीय र भुगोल जान्नेहरुलाई देशका अन्य जिल्लाका नाका प्रयोग गरेर भारत पु¥याउने र अन्यन्त्र जिल्लाबाट ल्याइएका नागरिकलाई प्रदेश १ का विभिन्न जिल्लाका सीमानाकाबाट कटाउने गरिएको पौडेलको दावी छ । प्रदेश १ का विभिन्न पहाडी जिल्लासँगै अन्य प्रदेशका नागरिकलाई भन्टाबारी नाका प्रयोग गरेर कटाउने गरिएको स्थानीयले बताएका हुन् ।
कोकनका कार्यक्रम संयोजक हेमन्त पौडेलले भन्टाबारी नाकामा संचालन गरेको सूचना केन्द्रले मात्रै गएको बैशाखदेखि हालसम्म ११ जनाको उद्धार गरेको जानकारी दिनुभयो । कोकनले भन्टाबारीबाट हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थापना गरेको सूचना केन्द्रले मात्रै हालसम्म १०८ जनालाई उद्धार गरिसकेको संयोजक पौडेलले बताउनुभयो ।
कोशी गाउपालिकाकी उपाध्यक्ष अनिता देवि यादवले ‘क्रस बोर्डर ट्राफिकिङ्ग’लाई रोक्न बजेट बिनियोजन समेत गरिएको जानकारी दिनुभयो । स्थानीयलाई सचेतनासँगै सीमा निगरानी बढाउँदै अन्य संयन्त्रसँग सहकार्य गरेर अगाडी बढ्ने गाउँपालिकाको योजना रहेको उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुनसरीमा ६२ किलोमिटर क्षेत्र खुल्ला सिमाना रहेकोले मानव बेचबिखन तथा ओसार पसार चुनौतीपुर्ण रहेको बताउनुभयो । उहाँले जोखिम क्षेत्र पहिचान गरेर र समुदायस्तरको सचेतनामूलक कार्यक्रमका लागि रणनीतिक योजना तयार पारिएको बताउनुभयो । सबै क्षेत्रको समन्वय र सहकार्यबाट मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सकिने उहाँको दावी थियो ।
कार्यक्रममा कोकनका सल्लाहकार कोषराज न्यौपानेले मानव वेचबिखनमा सिमापारको अबस्था बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा फेरिएको शैलीलाई निस्तेज पार्नका लागि देशभरका खुल्ला सीमा नाकामा निगरानी बढाउनका लागि सरकारी संयन्त्रले पहल लिनुपर्नेमा जोड दिइएको थियो ।