विराटनगर । विराटनगर–६ बिपी टोलस्थित एक व्यक्तिको घरमा गयराती चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी स्थानीय मणिराम सुवेदीको घरमा नगद र सुनचाँदीका गरगहना चोरी भएको हो । घरबाट २० तोला सुन र ५ केजी चाँदीको गरगहनाका साथै ७० हजार रुपैयाँ नगद चोरी भएको घरधनीका दाजू डिल्लीराम सुवेदीले बताए । उनले भाई परिवारसहित भारत गएको मौका छोपी घरमा चोरी गरिएको जानकारी दिए । ‘सुनचाँदीका साथै अन्य बहुमुल्य घरासयी सामानहरु समेत चोरेर लगिएको छ,’ उनले भने, ‘३ वटा कोठाको ६ वटा ताला फुटाएर चोरी गरिएको छ ।’
घरधनी मणिराम १ महिनाअघि छोराको पठनपाठनको सिलशिलामा भारतको कलकत्ता गएका थिए । भाडामा बस्नेहरु पनि बिहेको सिलशिलामा बुधबार विराटनगर बाहिर गएपछि शुक्रबार उनको घरमा चोरी भएको हो । चोर चिनजानकै हुन सक्ने स्थानीयको आशङ्का छ ।
प्रहरीले भने हाल घटना मुचुल्का उठाएर घटनाको अनुसन्धान सुरु गरेको छ । विराटनगरमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटका घटनाहरु भईरहेका छन् ।