विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोरखेलले संसद भित्र नाराबाजी गरेरै गठबन्धन सरकारलाई अनुमोदनका लागि बाध्य पारेको बताउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित रहनु भएका महासचिव पोरखेलले सम्झौता गरेर अनुमोदनमा भाग्न खोज्ने दलहरुलाई एमालेले नाराबाजी गरेरै लाइनमा ल्याएको दावी गर्नु भएको हो ।
उहाँले गठबन्धन सरकार गठनसँगै देशको स्थिति नाजुक अवस्थातर्फ केन्द्रीत भएको दावी गर्दै समग्र अर्थतन्त्रका सूचक ओरालो लाग्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालमा धेरै दलहरु हुँदा अनावश्यक चलखेल बढेको भन्दै महासचिव पोरखेलले आगामी निर्वाचनमा दुई दललाई मात्रै केन्द्रमा राख्ने गरि नागारिकले मतदान गर्नुपर्ने बताउनुभयो ।
कुन–कुन दललाई निर्वाचनको माध्यमद्वारा स्थापित गर्ने भनेर उल्लेख नगरि महासचिव पोरखेलले समाजवाद र पूँजीवादको नारामा अडिएका दुई मुख्य पार्टीलाई निर्वाचनको माध्यमबाट श्रेष्ठता कायम गरिनुपर्ने बताउनुभयो । अर्को एक प्रसङ्गमा महासचिव पोखरेलले संसद विघठनको मर्म अहिले स्थापित हुँदै गएकोले त्यसबेला राजनीतिक निर्णय गर्ने प्रधानन्यायधीश र प्रधानमन्त्री दुवै दोषी रहेको बताउनुभयो ।
प्रधानन्ययधीशले राजनीतिक सौदाबाजी गरेर महाअभियोग दर्ता गरिएको छ, महासचिव पोरखेलले भन्नुभयो–तर सौदाबाजीमा सहभागी भएको गठबन्धनलाई पनि उतिकै सजाय हुनुपर्दछ भन्ने मान्यतामा एमाले छ । उहाँले प्रधानन्यायधीशलाई मात्रै महाअभियोग लगाएर न्यायलय सुधार्न नसकिने बताउँदै त्यसमा एमालेको भूमिका विशेष हुने बताउनुभयो ।