विराटनगर । एक युवालाई अपहरण गरेर फिरौती रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरी घर भई विराटनगर–४ कंचनबारीमा डेरी गरि बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारसँग दुई लाख रुपैयाँ फिरौति रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरेका २७ वर्षीय सुमन दाहाल, सुनसरी इनरुवाका २४ वर्षीय शंकर खड्का र सोही ठाउँका ३० वर्षीय भवेस थापा मगर छन् । पक्राउ परेका आरोपीले आलोकलाई इनरुवास्थित भवेसको घरमा राखेका थिए ।
अपहरणपछि भवेसको घरमा ल्याएर राखेपछि उनीहरुले आलोकको फोनबाट उनका आफन्तलाई रू.२ लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती रकम नदिए जे पनि गरिदिने भन्दै उनीहरुले धम्की दिएका थिए ।
घटनाको मुख्य योजनाकार सुमन रहेको प्रहरीले बताएको छ । सुमन र भवेस वैदेशिक रोजगारको क्रममा दुबईमा सँगै काम गरेका थिए । मिल्ने साथी भएकाले अपहरण गरेपछि सुमनले भवेसको घरमा लगेर राखेको पाइएको छ ।
सुमनले आलोकलाई अपहरण गर्नुको कारण प्रेमिकासँग पनि जोडिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार सुमनको प्रेमिका विराटनगरमा बसेर नाम चलेको कलेजमा पढ्दै आएकी थिइन् । पढाइमा लाग्ने सम्पूर्ण खर्च सुमनले व्यवहोरेका थिए । दुई वर्षदेखि उनीहरुको अफेयर रहेकमो केही दिन अगाडि प्रेमिका आलोकसँग लागेको थाहा पाएपछि सुमनले अपहरणको योजना बनाएको प्रहरीले जनाएको छ ।
आलोकलाई अपहरण गर्ने र प्रेमिकालाई लगानी गरेको सम्पूर्ण खर्च उठाउने योजना उनीहरुले बताएर विराटनगरको कन्चनबारीबाट बिहीबार बेलुका आलोकको अपरहण गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । प्रहरीले अपहरण गरेको भोलिपल्ट शुक्रबार दिउँसो तीन जनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
आलोकको परिवारले जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । घटनास्थल विराटनगर रहेकाले सुनसरी प्रहरीले आवश्यक कारवाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा जिम्मा लगाएको छ । मोरङ प्रहरीले आइतबार ‘अपहरण तथा शरिर बन्धक’ मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरू गर्ने तयारी गरेको छ