विराटनगर । कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले मोरङ-४ बाट आफू अन्तिमपटक उम्मेदवार हुन चाहेको खुलासा गरेका छन् ।
पार्टीका नेता र कार्यकर्तासित उनले 'यसपटक मैले अन्तिमचोटी इच्छा गरे, सबैको सहयोग होस्, अर्कोपटक म प्रत्यक्षबाट खडा हुन्न' भन्दै सहानुभूति लिने प्रयास गरेका छन् ।
कांग्रेसको प्रभाव क्षेत्र मोरङ-४ मा एमालेका प्रभावशाली नेता विनोद ढकालको प्रवेश भइसकेको अवस्थामा अमृत अर्याल, भीम पराजुलीले पनि इच्छा देखाएका छन् । अर्याल र पराजुली दुबैले आचार्यसित सहयोग माग्दा उनले यो पटक अन्तिम हो' भन्ने जवाफ दिएका छन् ।
गएको प्रतिनिधिसभा निर्वाचनमा आचार्य अन्तरपार्टी अन्तर्घातकै कारण सान्दार पराजय भोगेका थिए र यो क्षेत्रमा अहिले पनि आचार्य क्याम्पको विरोधमा ठूलो समूह असन्तुष्ट छ । आचार्यले प्रदेश सांसदमा गुरुराज घिमिरे, दिलीप गच्छदारलाई किनारा लगाउँदै सम्धी विश्वनाथ रिजाल त्रिलोचनलाई रोजे ।
स्थानीय निर्वाचनमा खुलेरै केही उम्मेदवारको टिकटका लागि लबिङ गरेको, आफ्ना लागि अरुले गर्नुपर्ने तर अरुका लागि बेवास्ता गर्ने शैलीले पनि आचार्य कमजोर देखिए । अन्तरपार्टी निर्वाचनमा समेत केही निश्चित व्यक्तिलाई च्यापेर आफ्ने गुट बनाउँदा उनी धेरै आलोचित भए ।
कोरोना महामारी, बाढीपीडित र सुखदुःखको बेलामा आचार्य कार्यकर्तासित टाढिए र, निश्चित 'भष्मासुर' शैलीका व्यक्तिको बाटोमा हिंड्न खोजे । यसले उनलाई पार्टीमा लामो समय योगदान गर्नेहरूसित टाढा बनायो ।
साभार : न्यू सृष्टि दैनिक
फोटो:फाइल