विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान परिस्थितिमा गठबन्धनलाई निरन्तरता प्रदान गर्नुको विकल्प नरहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिष्टबिच वैचारिक मत भिन्नता भएपनि वर्तमान परिप्रेक्ष्यमा गठबन्धन जोगाउनु नै औचित्यपुर्ण हुने धारणा व्यक्त गरे । उनले पार्टी बिचको राजनितिक उद्देश्य, सिद्धान्त, मान्यता र विचार बेग्लाबेग्लै भएपनि राजनितिक उपलब्धिको संरक्षणका निम्त्ति गठबन्धन आवश्यक रहेको औंल्याए । उनले यही गठबन्धनले संविधानलाई सही ट्रयाकमा ल्याएको हुनाले यसलाई जोगाएर लैजानुुपर्ने बिषयमा जोड दिए । ‘अहिलेको गठबन्धन सरकार निर्माणका निम्त्ति मात्रै बनेको होईन् । राजनितिक उपलब्धिको संरक्षण र राजनितिक स्थायित्वको निम्त्ति पनि यसको आवश्यकता छ,’ उनले भने, ‘२००७ सालको क्रान्तिदेखि नै दुुवै पार्टी बेग्लाबेग्लै धार समातेर अघि बढेका हुन् । त्यो स्वभाविक हो, आफ्नो ठाउँमा छ । तर, राजनितिक उपलब्धि यी सबभन्दा माथि हुन । त्यसका लागि गठबन्धन चाहिन्छ ।’
गठबन्धन अहिलको आवश्यकता रहेको भन्दै नेता गच्छदारले यसको नेतृत्वकर्ताहरुले यसलाई जोगाएर लैजानुपर्ने बिषयमा जोड दिए । उनले पार्टीगत उपलब्धिभन्दा माथि उठेर राजनितिक स्थायित्वका निम्त्ति गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गरे ।
‘गठबन्धनबाट कांग्रेसलाई कति नाफा वा कति घाटा भयो भन्ने बिषयको लेखाजोखा अहिले आवश्यक छैन् । त्यसको सट्टा गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा सबैको ध्यान केन्द्रित हुनु आवश्यक देखिन्छ,’ उनले भने, ‘गठबन्धनकै परिणाम स्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुनुहुन्छ । भोलिका दिनमा स्थानीय तहको निर्वाचन पश्चात कतै कांग्रेस त कतै अन्य दलले नेतृत्वको अवसर प्राप्त गर्छन । त्यसैले हामीले यो सबभन्दा माथि उठेर सोच्नुपर्ने अवस्था आएको छ ।’
कांग्रेसको चुनावी तयारी बारे जवाफ दिँदै नेता गच्छदारले भने कम्युनिष्ट पार्टीहरु विभाजित भएको अवस्थामा नेपाली कांग्रेस एक्लैले पनि बहुमत हाँसिल गर्नसक्ने सम्भावना रहेको बताए ।