गफमै सिमित विराटनगरमा आकाशे पुल

<span class='c1'>गफमै सिमित विराटनगरमा</span> <span class='c2'>आकाशे पुल</span>

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माण कार्य गफमै सिमित भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलन्यास गरिएको आकाशे पुल निर्माण विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकालमा गफ मात्रै हुने भएको हो ।

सरोकारवालासँग परामर्श नै नगरि स्थान, ढाँचा र योजना छनौट गर्दा महानगरपालिकामा निर्माण गर्ने भनिएका आकाशे पुल अलपत्र परेको छ । गत वर्ष चैतमा पुलको  शिलन्यास गरिएको थियो । एकवर्ष हुँदासम्म महानगरवासीले आकाशे पुलको प्रयोग गर्न पाएका छैनन् । अब पनि निर्माण होला भन्ने आसा समेत मारिसकेका छन् ।

कन्चनबारीमा आकाशे पुल निर्माण गर्न सुरु गरिएको भन्दै महानगरपालिकाले हल्ला चलाएको थियो । तर, कन्चनबारी चौकको पूर्वतर्फ नाला क्लियर गर्न थालेर आकाशे पुलको हल्ला चलाइएको आरोप छ । मुख्यराजमार्ग अन्तर्गत कन्चनबारीको पूर्वतर्फको नालामा होम पाइप लगाइएको थियो । त्यसका कारण वर्षामा पानी पास नहुँदा डुबान समस्या थियो । त्यो होम पाइप हटाएर कंक्रिट नाला बनाउने काम सुरु गरेर निर्वाचन लक्षित हल्ला चलाइएको स्थानीयले आरोप लगाएका छन् ।

तर, नगरपालिकाका इन्जिनियर गोपाल पोखरेलले भने कन्चनबारीमा एकातर्फको जग तयार गरिएको जानकारी दिनुभयो । नाला समेत सञ्चालन हुने गरि आकाशे पुलका लागि आवश्यक जग तयार पारिएको इन्जिनियर पोखरेलको भनाई छ ।

यता निर्माण सम्झौता गरेका ठेकेदार कम्पनीहरुले भने सुरुमै निर्माणस्थल क्लियर नगरिदिएका कारण अहिले फलामको मूल्य बृद्धि भएकोले मूल्य समायोजन गर्नुपर्ने माग गर्न थालेका छन् । पछिल्लो समय महानगरपालिकासँग फलाममा बढेको मूल्य समायोजन हुनुपर्ने माग गर्दै कन्चनबारीमा आकाशे पुल निर्माण गर्न सम्झौता गरेको कम्पनीले ज्ञापनपत्र नै बुझाएको छ । ठेकेदार कम्पनी आरके बिल्डर्सका प्रोपाइटर रमेश कार्कीले ठेक्का सम्झौता गर्दा ६५ रुपैँयाप्रतिकेजी मूल्य रहेको फलाम अहिले १३० रुपैँया पुगेको दावी गरे । उनले सम्झौताका शर्त भन्दा बाहेकका कामहरु लगाउन थालेकोले त्यस वापतको रकम भुक्तानी गरे मात्रै काम अगाडी बढाउन सकिने बताए ।

आकाशे पुलको साविक स्थानमध्ये घाँस चौकलाई परिवर्तन गरेर विराटनगर बसपार्क दक्षिणतर्फको नागेश कोइरालाको जमिनमा सारिएको थियो । बरगाछी र घाँस चौकमा निर्माण हुनेमा आशंका छ ।

चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लागेको भनिएको आकाशे पुल स्थल नै टुङ्गिन सकेको छैन । दुई करोड ४७ लाख रुपैयाँको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्बाइ, पाँच दशमलव पाँच मिटर उचाइको पुल निर्माणस्थल नै टुङ्गिएको छैन ।। एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई स्टेयर, घाँस चोक र कञ्चनबारीमा चार स्टेयरको दावी गरिएको थियो । कला बिल्डर्सले बरगाछी र घाँस चोकको तथा आरके बिल्डर्सका कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको बताइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्