विराटनगर । नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको मृत्यु वा हत्या रहस्यमय रहेको बेला प्रहरीले आठजनासँग सोधपुछ गरिरहको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।
सप्तरीको विष्णुपुर गाउँपालिका- १ का मृतक यादव विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम्पाउण्डमा शनिबार बिहान मृत फेला परेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । शुक्रबार राति अबरेसम्म सँगै मदिरा खाने दुई जना र त्यहि रात बाटोमा मदिरा सेवन गरेर झगडा गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । मृतक यादव र झगडा गर्नेहरुको समूहबारेको कनेक्सन खोज्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको हो । हालसम्म ८ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
मृतक यादवसँग ७ महिना अगाडि एक फार्मेसी सञ्चालकले समेत झगडा गरेका थिए । उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । बाटोमा झगडा गर्ने समूह र अन्य पक्राउ परेकाहरुलाई दुव्र्यवहार मुद्दामा म्याद थप गरेर कर्तव्य ज्यानमा संलग्न रहेको नरहेको विषयमा अनुसन्धान गरिदैं आएको छ ।
प्रहरीले मोरङको रतुवामाई नगरपालिका घर भई विराटनगरमा बस्दै आएका जीवन कठेत, सुदीप पौडेलसहित ८ जनालाई जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ‘अभद्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरेको थियो ।
हाडजोर्नी सम्बन्धी उपकरण सप्लाई गर्ने कठेत र उनका साथी पौडेलसहित डा.यादवले एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको खुलेको छ । मृतकको पोस्मार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन भन्न सक्ने अवस्था रहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।
स्थानीयले शुक्रार राति ११ बजेपछि विजयको डेरादेखि ५० मिटर उत्तर र ५० मिटर पूर्वतर्फ केही युवाहरूको ग्याङफाइट भएको प्रहरीलाई बताएका छन् । मृत फेला परेका यादवको एउटा खुट्टामा जुत्ता रहेको र अर्को खाली थियो । प्रहरीका अनुसार एउटा जुत्ता तीन तला माथि र अर्को खुट्टामा रहेको थियो ।