विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले वेबसाइट सार्वजनिक गरेको छ । महासंघ प्रदेश १ समितिको प्रदेश सम्मेलनको उद्घाटनका अवसरमा बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले वेबसाइट सार्वजनिक गर्नु भएको हो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सुदृढीकरणका सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले केही प्रयास अघि बढाएको बताउनुभयो । प्रदेश १ मा पत्रकारिता र आमसन्चार क्षेत्रको विकासकै लागि सरकारले छुट्टै मन्त्रालय गठन गरेको बताउनुभयो ।
सरकारले पत्रकारिता क्षेत्रको छुट्टै कानुन समेत संसदमा पेस भइसकेको बताउनुभयो । मुख्यमन्त्री राईले कहिलेकाही सत्य कुरालाई पनि नियन्त्रीत ढंगले सम्प्रेषण गर्नुपर्ने अवस्थालाई समेत पत्रकारहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रदेश सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रदेश १ का यातायात तथा संचारमन्त्री उपेन्द्र घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो लगायत अग्रज पत्रकार, सम्बद्ध संघ संगठनका नेता, १४ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।
भेलाले प्रदेश समितिले यस अघि तयार पारेको कार्ययोजनामाथि छलफल गरि महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न हुने नेपाल पत्रकार महासंघ प्रदेश १ समितिका महासचिव विवेक गौतमले जानकारी दिनुभयो ।