विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रेस संयोजकमा प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत पत्रकार मीनकुमार नवोदित नियुक्त भएका छन् ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदित जेठ १६ गतेदेखि लागू हुनेगरी प्रेस संयोजकमा नियुक्त भएका हुन् । घटना र विचार साप्ताहिकबाट पत्रकारिता सुरु गरेका नवोदितसित दर्शन दैनिक, न्यू सृष्टि दैनिक, विराटपथ दैनिक लगायत पत्रपत्रिकाको सम्पादकीय अनुभव छ । हाल मकालु टेलिभिजन र कारोबार दैनिकमा आबद्ध नवोदित साहित्यमा समेत सक्रिय छन् ।
उनका समयको बयानसहित तीनवटा कृति प्रकाशित छन् । युवा साहित्यकारलाई नेपाल सरकारले दिने सबैभन्दा महत्वपूर्ण पुरस्कार ‘युवा वर्ष मोती पुरस्कार’ समेत नवोदितले पाइसकेका छन् । नेपाली लेखक संघ, प्रजातान्त्रिक विचार समाज, मानवअधिकार तथा शान्ति समाजलगायत दुई दर्जन बढी संस्थामा आबद्ध नवोदित महानगरले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने बताउँछन् । महानगर र पत्रकारलाई जोड्ने पुलका रुपमा आफूले काम गर्ने उनको भनाइ छ । “म जहिले पनि पदमा बसिसकेपछि त्यो पदलाई न्याय गर्नुपर्छ भन्ने विचार बोकेर हिंड्ने व्यक्ति हुँ,” नवोदितले भने, “मेरो काम भनेको महानगरसित पत्रकार भनौं या सञ्चारमाध्यमलाई जोड्ने हो, त्यसमा म सधैं सक्रिय रहनेछु ।”