पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

<span class='c1'>पाँच दलीय गठबन्धन आगामी चुनावसम्म</span> <span class='c2'>कायम रहन्छ : अध्यक्ष नेपाल</span>

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले मुलुकमा लोकतन्त्र, संविधान र जनताको हितमा कार्य गर्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनसम्म तालमेल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजै छलफल भएको जानकारी दिनुभयो । उहाँले गठबन्धनलाई कसरी जोगाएर अगाडि बढ्ने, ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने, सिट बाँडफाँडलगायत समसामयिक विषयमा छलफल भएको बताउनुभयो । विद्यमान निर्वाचन प्रणालीमा एउटै पार्टीले बहुमत ल्याउन कठिन रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीको समीक्षा गर्दै उहाँले छिट्टै सिट सङ्ख्या बाँडफाँड गरी आगामी निर्वाचनमा सहकार्य गरी अगाडि बढ्ने नेताहरुबीच समझदारी भएको प्रष्ट पार्नुभयो ।

विगतमा सबै वडा पालिकामा पार्टीको सङ्गठन विस्तार नभएको, स्थानीय तहको निर्वाचनमा पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको अवस्थामा पनि आएको परिणाम सन्तोषजनक रहेको अध्यक्ष नेपालको भनाइ थियो । देशका ७५३ पालिकामा तीव्र गतिमा राजनीतिक गतिविधिका साथै सङ्गठन विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले केही समय अगाडि आशङ्कामा रहेको एमसिसी व्याख्यात्मक टिप्पणीपछि केही सहज भएको भए पनि अहिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा विवाद भएको र नयाँ तरङ्ग आएकाले राष्ट्रियतालाई कमजोर बनाउने गरी कुनै पनि कार्य गर्न नहुने बताउनुभयो ।

सरकारले एसपिपीलाई खारेज गर्नुपर्ने सल्लाह दिँदै उहाँले भन्नुभयो, “सन् २०१५ अक्टोबर २७ मा एसपिपीका लागि नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि यसमा थप अन्योल देखापरेको छ, छिमेकी राष्ट्रलाई अप्ठ्यारो पार्न कुनै पनि सम्झौता गर्न सकिँदैन ।”

प्रधानमन्त्रीसँग सोही सन्दर्भमा छलफल गर्दा उहाँ यस विषयमा चिन्तित् भएको आफूले पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “सेनाले अर्को देशलाई पत्राचार गरेको कुरा कूटनीतिक मर्यादा विपरित हो, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो । तत्कालीन प्रधानमन्त्री अनविज्ञ रहेको एसपिपी विषय राष्ट्रको पक्षमा छैन ।”

अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थ उत्पादनको प्रभावले अहिले देशमा भइरहेको मूल्य वृद्धिबाट जनता महँगीको मारमा परेको अध्यक्ष नेपालको भनाइ छ । राज्यले जनताको पिर मर्का बुझेर पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने उहाँको सुझाव थियो ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले आफ्नो संस्था व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षणका लागि क्रियाशील रहेको उल्लेख गर्दै मुलुकमा भइरहेका समसामयिक विषयवस्तुबारे प्रष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्