तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्व बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्व भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो ।
अवरुद्व पृथ्वीराज मार्ग खुल्यो
पृथ्वीराज मार्ग सडकखण्डअन्र्तगत तनहुँको बन्दिपुर–५ याम्पामा पहिरा खस्दा सडक अवरुद्व भएको राजमार्ग पुनःसञ्चालनमा आएको छ । पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्व भएको थियो ।
पहिरा पन्छाएर सवारीसाधान आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । उक्त सडकखण्डमा समय समयमा पहिरा खसिरहेको छ । रासस
फोटो:फाईल