विराटनगर । विराटनगर महानगरपालिकाका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीसहित ७ जनालाई अन्तर्घाती भन्दै कारवाही सिफारिस गरिएको छ ।
स्थानीय निर्वाचनअन्तर्गत विराटनगर-३ बाट पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारवाहीका लागि क्षेत्रीय समितिसित लिखित आग्रह गरेका हुन् ।
नेकां क्षेत्रीय सभापति बिनोद बस्नेतले कारवाही सिफारिसको पुष्टि गरे । यो वडाबाट कांग्रेस छाडेर नेकां बीपीबाट रामचन्द्र गौतम मेयरमा उठेका थिए। उनी पार्टीको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए। गौतम पार्टीका क्रियाशील सदस्य हुन् । यस्तै बुथ सभापति सत्रुघनचन्द्र पौड्याल वडाध्यक्षमा बागी उम्मेदवार भए। पौड्याल नाताले भीमका भिनाजु हुन् ।
यस्तै कारवाहीको सिफारिसमा परेकामा भीमका दाजु चूणामणि पराजुली पनि छन् ।
चूणामणि पार्टीका क्रियाशील सदस्य हुन्। क्षेत्रीय सभापति बस्नेतले खुलेरै उम्मेदवार भएका गौतम र पौड्यालको हकमा विधानअनुसार स्वतः कारवाही भइसकेको बताए।
पौड्यालले बुथ सभापतिबाट राजिनामा दिएर बागी उठेका थिए र, झण्डै साढे ३ सय मत ल्याएका थिए। सयभन्दा बढी मत बदर भएको थियो। कांग्रेसका उम्मेदवार कमल पुडासैनीले एमालका बासु बस्नेतसित ४ सय मतको अन्तरले हारेका थिए।
कारवाही सिफारिस भएका अन्यमा नेका पूर्व जिल्ला सदस्य बिनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन् ।
कांग्रेसको प्रभाव क्षेत्र मानिने विराटनगर-३ मा पार्टीका विभिन्न गुट संचालित छ । यसअघि बुथ समितिले कसैलाई कारवाही नगर्ने निर्णय गरेको थियो। टिकट वितरण सही तरिकाले नभएकोमा पराजित भएको निष्कर्ष निकाल्दै बुथ समितिले उल्टै नेतृत्वलाई दोष दिएको थियो ।
कारवाहीको यो दौरले विराटनगरकै सबैभन्दा ठूलो र बढी मतदाता संख्या (१२ हजारभन्दा बढी) ३ मा कांग्रेसभित्र तिब्र इगो सुरु भएको छ । नेकां केन्द्रीय सदस्य पराजुलीले पार्टी निर्णयअनुसार काम गर्दा पनि आफुसहित साथीहरूलाई कारवाहीको सिफारिस गरेकोमा आश्चर्य व्यक्त गरे ।
उनले भने, 'जुन उम्मेदवारका तर्फबाट अन्तर्घातको बात लगाइएको छ मैले उहाँ (कमल पुडासैनी) सित कुरा पनि गरेको हो, उहाँले "कुरा सहयोग भयो तर, हामीले हार्यौ भन्नुभएको थियो, कारवाहीको सिफारिस भएपछि मैले उहाँलाई धेरैपटक फोन गरे तर, उहाँले उठाउनुभएन ।' आजको न्यू सृष्टि दैनिकमा समाचार छ ।
फोटो:फाईल