विराटनगर । विद्यार्थीहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको कार्यालयमा तोडफोड गरेका छन् ।
प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाइको निर्वाचन अघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै बिहीबार प्राध्यापक संघको कार्यलयमा तोडफोड गरेका हुन् ।
असार १५ गते प्राध्यापक संघको निर्वाचन भएको थियो । विद्यार्थीहरुले प्राध्यापक संघको निर्वाचन अघि स्ववीयूको निर्वाचन गर्न माग गर्दै प्राध्यापक संघको निर्वाचनमा अवरोध गरेका थिए ।
स्ववीयूको निर्वाचनका लागि निरन्तर पत्रचार गर्ने सहमति पछि प्राध्यापक संघको निर्वाचन भएको थियो । तर सहमति पत्रमा प्राध्यापक संघका प्रतिनिधिले हस्ताक्षर नगरेपछि असन्तुष्ट विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेको अनेरास्ववियु ईकाई कमिटी उपाध्यक्ष आरोग्य थापाले जानकारी दिए ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले संघको कार्यालय तोडफोड गरेका थिए ।