विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा हुने बाढी र डुबान समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ । मेयर नागेश कोइराला नेतृत्वमा बिहीबार प्राविधिकसहित बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको हो ।
अवलोकनका क्रममा कोइरालाले महानगरभित्र देखिएको बाढी र डुबान समस्याको समाधान दीर्घकालीन योजना बनाएर समाधान गर्ने प्रतिबद्धता जनाए । अहिलेको योजनाभन्दा फरक योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । इन्जिनियर अर्जुन थापासहितको प्राविधिक टोलीलाई साथै लिएर मेयर कोइराला बाढी र डुबानबाट बढी प्रभावित विराटनगर वडा नम्बर ३, ५, १५, १८ र १९ नम्बर को अवलोकन गर्न पुगेका थिए । सो क्रममा ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, १५ का वडाध्यक्ष प्रकाश साह, १८ का वडाध्यक्ष जितेन्द्रकुमार साह, १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेले आफ्नो वडामा बाढी र डुबानले पु¥याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
डुबान र बाढीकै समयमा अवलोकन गर्दा योजना बनाउन सहज हुने भएकाले प्राविधिकसहित अवलोकन गरिएको मेयर कोइरालाको भनाइ थियो । “हामी जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको एक महिना नबित्दै विपदको सामना गर्नुप¥यो, बाढी र डुबान समस्याका लागि पूर्वतयारी गर्नै पाइन,” मेयर कोइरालाले भने, “अब कुन–कुन ठाउँमा के कारणले डुबान भयो भन्ने बारेमा हामीले जानकारी पाइसकेका छौं त्यसैअनुसार योजना बनाएर काम गर्छौं । आजको भोलि समस्या समाधान नहोला, त्यसका लागि ठूलै बजेट आवश्यक पर्छ । क्रमशः समस्या समाधान गर्दै जान्छौं ।”
अवलोकनका क्रममा सम्बन्धित वडामा खटिएका इन्जिनियरहरूलाई वडाभित्र डुबानका कारण र समाधानका उपायसहित एक हप्ताभित्र प्रतिवेदन तयार पारेर ल्याउन निर्देशनसमेत दिए । मेयर कोइरालाले पूर्वाधार विकास आयोजनाका प्रमुख इन्जिनियर सुशील श्रेष्ठलाई घिनाघाट पुल र पुष्पलालचोक–विराटचोक सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे ।