विराटनगर । चटपटे र पकौडाले हरेक उमेरलाई लोभ्याउँछ । गल्ली-गल्ली र चोक-चोकका सडक छेउ र पसलमा पाइने चटपटे र आलु र प्याजको पकौडा विराटनगरको अनेकनमध्ये एक चिनारी हो भुजामा आलु चना, बदाम मिसाएर बनाएको चटपटे र बेसनमा उसिनेको आलु र प्याज घोलेर बनाएको पकौडालाई जहाँ गएपनि विराटनगरवासीले भुल्न सक्दैनन् ।
चटपटे र पकौडाको रेट बिक्रेताले किटान गरेको हुन्छ । बिक्रेताले आँखैले हेरेर चटपटे र पकौडाको अन्दाज गर्छ र ग्राहकलाई बेच्छ । अन्दाजको भरमा चटपटे र पकौडा बेचिँदा एकै रकम तिरेकामध्ये कुनै ग्राहकले ज्यादा र कुनै ग्राहकले कम पाउने सम्भावना रहन्छ । विराटनगरमा यस्तो दोकान छ जहाँ चटपटे र पकौडा अन्दाजमा होइन, जोखेर बेचिन्छ । विराटनगर-९ गुद्री छेउस्थित बनारसी सत्तु पसलले ३० औं वर्षदेखि चटपटे र पकौडा जोखेर बिक्री वितरण गर्छ । पसलमा गएर चटपटे र पकौडा किन्न माग्यो भने नापजोख गरेर मात्र बिक्री गर्ने गरेको छ। पसलमा पहिले तराजुमा चटपटे र पकौडा जोखिन्थ्यो भने आजकल पसल हाइटेक बन्दै गएको छ। सातु, चटपटे, ब्रेडचप, पकौडा, चनालगायतका सामग्री पाइने पसलमा डिजिटल तराजुको प्रयोग भएको छ । पसल संचालक अनिल गुप्ताले ग्राहकको सन्तुष्टि नै आफूहरूको सन्तुष्टि भएको बताए।
उनले पसलमा आउने सबै ग्राहकलाई समान नजरले हेर्ने भन्दै जोखेर चटपटे र पकौडा बेच्ने गरेको बताए । गुप्ताले जोखेर चटपटे र पकौडा बेच्दा सबैले समान पाउने तर अन्दाजको भरमा बेच्दा कम बेसी हुन जाने बताए।
गुप्ताले भने, 'व्यापारमा कालो मन राखेको भए मेरोपनि विराटनगरमा घर हुन्थ्यो होला । इमान्दारिताका साथ व्यापार गरेको छु, भाडामा बसेको छु ।' पसलले खान लगाउन दिएकोमा सन्तुष्ट छन् साह । क्वालिटी किराना पसलका संचालक कमलकुमार अग्रवालले नापतौल गरेर चटपटे र पकौडा बेच्ने अरू पसल आफूले नदेखेको बताए उनले सो पसलले खाद्यान्नमा गुणस्तरीयता कायम गरिरहेको बताए।
साना कारोबारी सुमित साहले जोखेर खाइने चटपटे र पकौडाको स्वादनै बेग्लै हुने बताए । तर गुप्ताको व्यापारमा पनि मन्दीको कालो बादलले घेरेको छ। उनी भन्छन्, 'बुवा काकाको पालामा पसलमा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो। दिनैभरी व्यापार हुन्थ्यो तर हाल पसलको लागत उठ्नपनि
गाह्रो छ। कोरोनाकालदेखि धन्दा चौपट बन्दैगएकोछ।'
आधुनिक डिजिटल काँटामा जोख्दै बेचिने चटपटे र पकौडाले व्यापारमा केहि हदसम्म पारदर्शीता कायम गरेको छ। सबैको पारदर्शिता कायम गर्ने सोच भए विराटनगर फल्ने फुल्नेमा कुनै शंका नहुने मेनरोडका व्यापारी अम्बर कटुवालको दावी छ । -अनुज सापकोटा न्यू सृष्टि दैनिक