विराटनगर । एसियाली विकास बैंकको सहयोगमा विराटनगरमा निर्माण भएका चिल्ला सडक समुदायको अपनत्व नहुँदा र महानगरपालिकाले तत्कालै मर्मतमा अग्रसरता नदेखाउँदा भत्किने क्रम बढ्दै गएको देखिन्छ ।
विराटनगरको उत्तरी क्षेत्रमा निर्माण भएको सडकका दर्जनौं ठाउँमा भ्वाङ परेको छ। 'एक महिनाअघि सानो भ्वाङ थियो तर, एक महिनापछि त्यो बढ्दै विस्तार भएको छ' विराटनगर-३ का उपेन्द्र यादवले भने, 'सामान्य टालटुल गर्दा हुने काम बढ्दै मोटो रकम विनियोजन गर्नुपर्ने अवस्थामा पुगेको छ, यसमा महानगरपालिकाको लापरवाही देखिन्छ ।'
खानेपानी, टेलिकम, इन्टरनेटका नाममा बनाइएका संरचना एकातर्फ भत्काएर कमजोर पीच गरिएको छ। अर्कोतर्फ निर्माण सामग्री जथाभावी राख्दा सडक विग्रिन थालेको देखिन्छ । एसियाली विकास बैंकले सडक पीचका लागि मात्र २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । विराटनगरको उत्तरी, मध्य क्षेत्रका टोल-टोलमा बनेका सडक भत्किन थालेका छन् । महानगरपालिकाका एक प्राविधिकले भने, 'हामीले यसबारे धेरै पहिलेदेखि कुरा उठाएको हो, भत्कने क्रम बढ्दै जाँदा मोटो रकम विनियोजन गर्नुपर्छ त्यसैले सानो आकारमा जहाँ भत्केको छ त्यहाँ तत्कालै मर्मतको कार्य गरिहाल्ने एक टिम तयार गरौं भन्दा पनि केही सुनवाही भएको छैन ।'
विगत २ वर्षमा भारी वर्षाका कारण पनि सडक कमजोर भएको छ। अत्यधिक भार क्षमताका साधनसमेत सहरी क्षेत्रमै संचालन भएर औद्योगिक करिडोर क्षेत्र पुग्ने भएकाले ठाउँ-ठाउँमा धसिएको छ।
'एसियाली विकास बैंकको नाममा विराटनगरको सौन्दर्य बढाउन लगानी त भयो तर, न समुदायमा अपनत्व देखियो न महानगरपालिकामै, फगत सडकको मर्मतलाई कसैले ध्यान दिएको छैन' महानगरपालिकाका एक वडाध्यक्षले भने ।
विराटनगरको पानीटंकीदेखि पुष्पलालचौकसम्मको सडक हेर्ने हो भने एक दर्जनभन्दा बढी स्थानमा भत्किएको छ । एक दर्जनभन्दा बढी स्थानमा भ्वाङ परेका छन् । यसलाई तत्कालै मर्मत गर्ने हो भने भोलि विस्तार नहुने हो तर, यसतर्फ बजेट नै छैन भन्दै पन्छिने गरेको छ महानगरपालिका ।
ती वडाध्यक्षले भने, 'मैले परिषद् बैठकमा यसबारे कुरा पनि उठाए, सडक त बन्यो तर, मर्मतका लागि खोई बजेट निकासा गरेको भनेर प्रश्न गरे, यसको यथोचित जवाफ मैले पाइनँ ।' आजको न्यू सृष्टि दैनिकमा समाचार छ ।
फोटो:फाईल