विराटनगर । विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्पफायर सम्पन्न भएको छ । शुक्रवारदेखि वडा नं १२ सम्पन्न बस्तीमा सुरु भएको क्याम्पमा शनिवार राति क्याम्पफायरको आयोजना गरिएको हो । क्याम्पफायरका तस्बिरहरू हेरौँ ।
नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सम्पन्न बस्तीमा क्याम्प जारी रहेको छ ।
विद्यार्थीहरूलाई आत्मरक्षाको पाठ सिकाउन तथा सामाजिक कार्यमा सक्रिय बनाउनका लागि नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा क्याम्प सञ्चालन गरिएको हो ।
क्याम्पफायर कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले क्याम्पफायरले आफू भित्रका डर तथा त्रासलाई हराई म केही गर्न सक्छु भन्ने जोस पैदा गर्ने बताए ।
क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरू, शिक्षक, रोबर-रेन्जर लगायतले सहभागिता जनाएका छन् ।
विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन् । क्याम्पको आइतबार(आज) समापन गरिने आयोजक समितिले जनाएको छ ।