विराटनगर । कृष्णजन्म अष्टमीको भोलिपल्ट विराटनगर–१ राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथयात्रा यो वर्षपनि सुरक्षालाई कारण देखाउँदै विधीमा सिमित गरिने भएको छ ।
वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रामा रुपान्तरणपछिको ५४ औं संस्करण आगामी भदौ ४ गते निकालिने थियो । तर, सुरक्षा अभावको कारण देखाउँदै राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले यो वर्ष विधी र परम्परालाई धान्ने गरि रथयात्रा निकाल्ने भएको छ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो ।५४ औं संस्करणका लागि रथयात्रा आयोजक समिति समेत गठन गरिएको छैन । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले स्थानीय प्रशासनले अनुमति नदिएका कारण सार्वजानिक रुपमा रथयात्रा आयोजना गर्न बाधा परेको दावी गरेका छन् । तर, विधी र परम्पार धान्न ट्रकमा राधाकृष्णको मन्दिर राखेर घुमाईने भएको छ ।राधाकृष्णको मूल रथ प्यागोडा शैलीको छ । यो मूल रथको लम्बाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट छ । रथको अग्रभाग जुवामा बाँधेको ७५ फिट लम्बाइको दायाँ र बायाँ पट्टि फैलिएको डोरी राखिने गरिएको थियो । दायाँबाट पुरुष र बाँयातर्फ महिला प्रहरीले डोरी समाएर रथ तान्ने गरेका थिए ।रथमा राधाकृष्णलाई रथारोहण गराएर महानगरको परिक्रममा गराउने गरिएको थियो । विराटनगरका ४० स्थानमा विश्राम गराएर भक्तजनलाई पूजाअर्चना गर्ने अवसर दिईने गरिएको थियो । अध्यक्ष रेग्मीले रथ तान्नका लागि २५० जना प्रहरीको सहयोग जरुरी पर्ने जानकारी दिए । त्यस बाहेक सुरक्षाका लागि आवश्यक प्रहरी स्थानीय प्रशासनले परिचालन गर्दै आएको थियो । यस पटक स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने जनाएको आरोप मन्दिर व्यवस्थापन समितिको छ ।त्यस बाहेक पछिल्लो समय बढ्दो कोरोनाको कारण पनि रथयात्रा निकाल्दा धेरै भीड बढ्न सक्ने संभावनालाई स्थानीय प्रशासनले चनाखो रुपमा हेरेको बुझिएको छ । भक्तजनको रुपमा हजारौं सर्वसाधारण सडकमा आउँदा कोरोना संक्रमण हुनसक्ने संभावनालाई ध्यानमा राखेरै विधी र परम्परा धान्न मात्रै आग्रह गरिएको हुनसक्ने अध्यक्ष रेग्मीलेको बुझाई छ ।