गाउँघरबाट हराउँदै लिङ्गे पिङ

<span class='c1'>गाउँघरबाट हराउँदै</span> <span class='c2'>लिङ्गे पिङ</span>

टक्सार (भोजपुर)। गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ ।

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ ।” स्थानीयवासी खोमराज धमलाले भन्नुभयो, “पुराना संस्कार तथा संस्कृति विस्तारै हराउँदो क्रममा छन् ।” बढी मात्रामा बाटिएको टोरी प्रयोग गरेर बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने अनुभव युवाको छ । “विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो । त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, स्थानीय युवा वसन्त खड्काले भन्नुभयो । गाउँका मुख्यस्थल पिङमय हुने गरेको भए पनि हिजोआज त्यो संस्कृति पनि लोप हुँदै गएको भनाइ अरुण गाउँपालिकाका लिलानाथ कोइरालाको छ ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको कारण पिङको संस्कार पनि हराउँदै गएको स्थानीय शिव भुजेलको धारणा छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवा दसैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरुले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्, त्यसले गर्दा पुरानो परम्परा नै लोप हुने अवस्थामा पुगेको छ”, भुजेलले भन्नुभयो ।

सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको तर पिङ नै गाउँघरमा लगाउन छोडिएको स्थानीय बद्रीबिक्रम बुढाथोकी बताउनुहुन्छ । “पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको छ । युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्”, बुढाथोकीले भन्नुभयो, “संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।” पुरानो भनाइ चाडपर्वमा पिङ खेलेर भुई छाड्नुपर्ने परम्परा पनि हटेको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्