विराटनगर । मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाईते मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । माहुरीले चिल्दा अन्य चार घाइते भएका छन् ।
केराबारीको एक पसलमा भएको विवादमा लेटाङ–१ का ३० वर्षीय हस्तबहादुर लिम्बूको कुटपिटबाट गत आइतबार घाइते भएका राईको मृत्यु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभई घर लगिएको थियो ।
उनको बुधबार राति मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी दीपक श्रेष्ठले बताए । लिम्बूलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गराई घटनाको अनुसन्धान सुरु गरिएको छ । माहुरीले चिलेर घाईते भट्टको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो ।