-नानि भारद्वज
ओइलिएको फूल हुँ म
गर्दैन कसैले महत्व मलाई
न त भेट्न आउँछ
भमरा अब कराई
न त आउँछ चमेरा
चुम्न अब मलाई
न त आउँछ माहुरी
रस चुस्नलाई
न त आउँछ कुनै
बाहुली लिन मलाई।
थिएँ म उद्यानको
सुन्दर थुङ्गा
चरीबरी पुतली
आई झुम्थे पूरा
मेरो मुस्कानमा
हुन्थे मदहोस रवि
आई चुम्थे पवन
प्रातः शीत बनी।
परागको रसमा लठ्ठिएर
अङ्कमालमा राख्न खोज्थे
सबै म मा रत्तिएर
प्रज्वलित जवानी
मेरो पत्र पत्र
शुभाष सबले
लान्थे यत्र तत्र।
रमाउँथे म पनि
मुस्कान छरी
पवनको अङ्कमालमा
गर्थेँ नृत्य झैँ एक परी
तप्त पसिना घरि घरि
पुछ्न आउँथे थरी थरी
निस्तब्ध मुस्कान मेरो
हेर्न आउँथे कति कति।
उषा मेरी दिदी
सबेरै उठ्न भन्थिन्
निशा मेरी बहिनी
सुत्नु हुन्न भन्थिन्
रमेर तिमीले
शोभा दिनु पर्छ
अतिथी सबको
सेवा गर्नु पर्छ।
झुण्डिन्थेँ म
सबका गला गलामा
रम्दथेँ म
सबका कला कलामा
थियो फक्रेको
यौवन मेरो
हुन्थ्यो नतमस्त
छाडा चमेरो
अन्धकारमा मेरो
रस जो चुसेर
लढ्थ्यो त्यहीँ
लठ्ठ भै सुतेर।
ओइलिएको फूल हुँ
गर्दैन कसैले महत्व मलाई
न त भेट्न आउँछ
भमरा अब कराई
न त आउँछ चमेरा
चुम्न अब मलाई
न त आउँछ माहुरी
रस चुस्नलाई
न त आउँछ कुनै
बाहुली लिन मलाई।