खोटाङ । खोटाङमा विद्यालयबाट घर नफर्केकी १७ वर्षीया बालिका मृत फेला परेकी छिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी रञ्जिता दाहाल सोमवार घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् ।
उनी आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी थिइन् । खोजीका क्रममा रुखको फेदमा भेटिएको खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी मञ्जिल मुकारुङले जानकारी दिएका हुन् । अवस्था हेर्दा शंकास्पद देखिएपछि प्रहरीले शव पोष्टमार्टमका लागि पठाउने भएको छ । थप अनुसन्धानका लागि रिपोर्ट जरुरी पर्ने देखिएको हो । रुखमा पासो लागेर झरे जस्तो स्थितिमा लास फेला परेको हो ।
मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । विद्यालयमा माघ ३ गतेदेखि नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गएकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् ।
साथीसँग छुटेपछि सम्पर्कविहीन बनेकी दाहालको शव पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा भेटिएको छ । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई स्थानीयवासीले शङ्कास्पद मानेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।