तिम्रो मौनतामा म छुट्टै चमकिलो आनंद भेटदछु
एउटा यस्तो शान्ति
जुन ताराले भरिएको रात भन्दा चम्किलो छ
औशीको रात पछिको सुर्योदय भन्दा गहकिलो छ
तिम्रो स्वासप्रश्वास मात्रै सायद कृष्णको मुरलीको धुन हो
म भित्र गुन्जने
एक दिव्य भजन सायद एक शान्त संगित
तिम्रो मौनता एक स्वर-संगतिको प्रेम हो
सायद कोशी नदि भन्दा व्यापक, त्यसको प्रवाह भन्दा शालिन
चंद्रमाको मुस्कान जस्तै रहस्यमय र मोहक
भित्रदै गरेको वर्षायाम जस्तै निर्दोष र सम्यक
म तिम्रो त्यो मौन निश्चलतामा फुल्ने गुलाफ हुन्छु ,
जसको अमृत पिउँदै, मेरा पङ्क्तिहरू फुल्छन्
गौरीशंकरका चुचुराहरू झैं आकाशसम्म पुगेर झुल्छन!
तिम्रो मौनता..
एउटा खजाना हो सायद
तौलन नसकिने एक रत्न
दरबार छोडेका बुद्ध जस्तै ध्यानमग्न
शब्दविहिन शुन्यतामा म मेरो आत्मा भेटदछु
सायद गन्तव्यहिनतामा म मेरो परमात्मा भेटदछु ।
र तिम्रा बोलिका शब्दहरु ,
तिम्रा आवाजहरु ,
सुदुरका इन्द्रेणी हुन् जुन मैले देखेको छैन
अपुरा कविता हुन् जुन लेखे को छैन
बगेका आँशुहरु हुन् जुन पोखेको छैन
भागवत गीताकाका श्लोकहरु हुन् बुझ्न जुन सकेको छैन
कर्णाली बगिरहे जस्तै
तिमि बोलिरहेको मलाइ प्रिय लाग्छ
तर त्यो विश्वाल प्रवाह म थेग्न सक्दिन
तिम्रो निश्चल प्रहार म रोक्न सक्दिन
समयको तराजुमा आफुलाई जोख्न सक्दिन
तिम्रा बोलिका शब्दहरुमा ,
तिम्रा आवाजहरुमा ,
म भित्र नजन्मेको एक मानिस भेटदछु
म सग नभएको एउटा कथा लेख्दछु।