काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे छ ।
खाना पकाउने ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै आएको हो ।
भण्डारीलाई आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए । डा. भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकाेमा आज बिहानदेखि छ लिटरमा झारिएको छ ।
यही फागुन ३ गते राति काठमाडाैंकाे बुद्धनगरस्थित निवासमा भएकाे दुर्घटनामा सांसद भण्डारीसहित उनकी आमा हरिकला घाइते भएकी थिइन् । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।
नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।
फोटो:फाइल