काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पोखरादेखि झापाको भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालिएको छ। आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालिएको हो ।
पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वी भेगबाट पोखरासम्म आउजाउ गर्ने आन्तरिक पर्यटकलाई सहज हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बिहान ६:१५ बजे पोखरादेखि भद्रपुर उडान हुनेछ भने साँझ ६:५५ बजे भद्रपुरबाट पोखरा उडान हुनेछ ।
अहिले पोखराबाट स्थल मार्गमार्फत भद्रपुर पुग्दा कम्तीमा १५ घण्टासम्म यात्रा गर्नुपर्छ । सिधा उडानले आन्तरिक गन्तव्य इलाम सहित भारतका दार्जिलिङ, सिक्किम सहितका गन्तव्यमा आउजाउ गर्न सहज हुनेछ। त्यस्तै काँकडभिट्टा नाकाबाट गरिने आर्थिक कारोबारलाई पनि सहज हुने कम्पनीले जनाएको छ ।
बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु गर्दैछ। पोखरामै रात्रि बिसान भएका जहाजलाई बिहानै विभिन्न गन्तव्यसम्म उडान गर्ने तयारी बुद्ध एयरको छ । बुद्धले अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगन्ज दैनिक उडान गरिरहेको छ अब भद्रपुर पनि सिधा उडानबाट पोखरा जोड्नेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरेको बुद्धले बेलुकी ८ बजेसम्म सबै उडान गर्ने जनाएको छ।
फोटो:फाइल