विराटनगर । प्रदेश नम्बर १ को 'कोशी' नाम बहुमतले पारित भएको छ ।
प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोसी पारित गरिएको हो ।
प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट कोसी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् । 'कोशी' प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो। विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए।
प्रदेशको नाम 'कोशी' राख्नका लागि नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए। नाममा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गरेका थिए।
'कोशी' प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका थिए।
यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश बहुमतले अस्वीकृत भएको थियो । मतदानमा जसपाकी सांसद निर्मला लिम्बू र राप्रपाकि सांसद सविना बजगाई मतदानमा सहभागी हुन पाएनन् ।
उनीहरु ढिला उपस्थिति भएका थिए । प्रदेशसभामा अन्य ४ जना सांसद अनुपस्थित थिए ।