दमक । फोनिज मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश विरुद्ध प्रदर्शन गरेको छ ।
बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्व पश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो । प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता लिम्बू, प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश पदाधिकारी, सल्लाहकार र सदस्यहरु र जिल्लाका नेतृत्व सहभागी थिए ।
त्यसअघि आयोजित भेलामा बोल्दै फोनिज संघीय उपाध्यक्ष देवानले पहिचान पक्षधरहरुको परिपाटी नमिल्दा र पहिचान विरोधी शक्तिहरुको प्रपन्च मिल्दा पहिचानलाई पाखा लगाएर कोशी नामाकरण हुन पुगेको बताए ।
देवानले भने –’जसरी पहिचान चाहनेहरुको मर्म र भावना कुन्ठित गरेर प्रदेशको नामाकरण गरियो, यो गम्भीर षड्यन्त्र हो । फोनिज यसको विपक्षमा दृढताका साथ उभिनेछ ।’
भेलाको सान्दर्भिकता बारे प्रकाश पार्दै उनले फागुन २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा सम्पन्न हुने फोनिजको नीति तथा विधान सम्मेलनमा सबैले उपयुक्त र प्रभावकारी सुझाव दिनुपर्ने भन्दै जिल्लाहरुको अत्यधिक सहभागिता जुटाउन पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय सदस्यहरु देबेन्द्र खापुङ र सुजाता लिम्बू, प्रदेश सल्लाहकार फिपराज बेघाले पहिचानको चाहनालाई कुठाराघात गरिनु निन्दनीय भएको टिप्पणी गरे ।
त्यस्तै, फोनिज प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेश सभाभित्र छलछाम गरेर पहिचान पक्षधरहरुमाथि प्रहार गरिएको भन्दै यसले द्वन्द्व र विद्रोहलाई जन्म दिएको जिकिर गरे ।
भेलामा सहभागी मध्ये प्रदेश कोषाध्यक्ष प्रेम देवान, सदस्य बाबुराम मुडियारी, मोरङ सहसचिव रामकुमारी तामाङ लगायतले विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।